ढल्केवर, असार १६ गते । सरकारले ल्याएको नागरिकता संशोधन विधेयक खारेजीको माग गर्दै ढल्केवरमा प्रदर्शन गरिएको छ ।
नेकपा नेतृत्वको सरकारले महिला विरोधी विभेदपूर्ण विधेयक ल्याएको भन्दै जनता समाजवादी पार्टी नेपालले मंगलबार धनुषाको ढल्केवरमा विरोध प्रदर्शन गरेको हो ।
विधेयकको विरोधमा पार्टीको पूर्वघोषित कार्यक्रम अनुसार पार्टीका नेता तथा कार्यकर्ताहरुले ढल्केवरस्थित कृषि बजारबाट विरोध ¥याली निकालेर प्रदर्शन गरेका हुन् ।
¥यालीमा सहभागीहरुले विभेदपूर्ण नागरिकता विधेयक खारेज गर, मधेशमाथिको विभेद बन्द गर, केपी ओली राजिनामा दे लगायतका नाराहरु उल्लेखित प्लेकार्ड बोकेर सरकारविरुद्ध चर्को नारावाजी गरेका थिए ।
नगरको विभिन्न भागको परिक्रमा गर्दै विरोध ¥याली ढल्केवरस्थित शहिद स्मार्क पार्क अगाडी पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै जनता समाजवादी पार्टी नेपालका नेता राम कुमार महतोले मधेस र मधेसी जनताको विरोधमा सरकारले यो नागरिकता विधेयक ल्याएको बताए । विभेदकारी नागरिकता विधेयक ल्याएर सरकारले मधेसीमाथि अन्याय गरेको उनले आरोप समेत लगाए ।
मधेसी महिलालाई नागरिकता विहिन बनाएर केपी आली नेतृत्वको सरकारले खोक्रो राष्ट्रवादको नारा दिईरहेको महतोले टिप्पणी गरे । उनले यो विभदकारी विधेयक खारेज नभएसम्म आफूहरुको आनदोलन जारी रहने धारणा राखे ।
यस्तै पार्टीका अर्का नेता चन्देश्वर महतोले सरकारले बहुमतको दम्भमा मधेस विरोधी नागरिकता विधेयक ल्याएको बताए । यो विधेयक संविधानको मर्म विपरित रहेको उनले जिकिर गरे ।
नेता महतोले सरकारलाई यो विधेयक खारेज गर्नुको विकल्प नरहेको समेत बताए ।
Discussion about this post