जनकपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको अवस्था गम्भीर

वीरगञ्ज,असार २० गते । शुक्रबार राति साढे १० बजे महोत्तरीको रामगोपालपुरबाट ३० वर्षीय एक युवकलाई जनकपुरस्थित अस्पतालमा ल्याइएको थियो । श्वास प्रश्वासमा समस्या देखिएपछि रामगोपालपुरको क्वारेन्टिनबाट उनलाई रिफर गरिएको हो । आरडीटी पोजेटिभ देखिएका उनको पीसीआर रिपोर्ट आइसकेको छैन । रामगोपालपुर क्वारेन्टिनमा ज्वरो र खोकीको उपचार गरिँदै आएको थियो ।

रगतमा अक्सिजनको मात्रा कम देखिएको, ज्वरो आएको, स्वासको गति तीव्र भएको आधारमा सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकले उनको अवस्था गम्भिर रहेको जानकारी आफूलाई दिएको सामाजिक विकास मन्त्रालयका सचिव राम प्रसाद घिमिरेले बताए । ‘अस्पतालमा भएको सम्पूर्ण स्रोत र साधनको परिचालन गरी उपचार गर्न भनेका छौं,’ उनले भने, ‘सकेसम्म उनलाई केही नहोस् भनेर चिकित्सक एवं स्वास्थ्यकर्मी लागिपरेका छन् ।’

त्यस्तै असार १६ गते राति १० बजे महोत्तरीको जलेश्वरस्थित आइसोलेसनमा ४५ वर्षीय पुरुष बेहोस भएका थिए । बेहोस भएपछि जनकपुरस्थित लेभल–२ कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
स्वास्थ्य परीक्षण गर्दा उनको शरीरमा चिनीको मात्रा र ब्लड प्रेसर दुवै उच्च देखिएको थियो । उनको दोस्रो पीसीआर परीक्षण रिपोर्ट समेत पोजेटिभ नै आएको धनुषा जिल्ला कोभिड आइसोलेसन संयोजक डा। जामुन प्रसाद सिंहले जानकारी दिए ।

‘प्रादेशिक अस्पताल मेडिसिन विभागले दिएको जानकारी अनुसार उनको अवस्था सुधारउन्मुख त छ, तर दुईवटै हाई रिक्स फेक्टर भएकाले कुनै पनि बेला अवस्था गम्भिर हुन सक्छ,’ उनले भने, ‘लेभल– २ कोभिड अस्पतालमा राखेर उपचार भइरहेको छ ।’

प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको अस्थायी कोभिड अस्पतालमा १ सय १ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।अनलाइनखबर