सभामुख सापकोटाका सुरक्षाकर्मीमा कोरोना पुष्टि

काठमाडाैं, साउन १७ गते । सभामुख अग्निप्रसाद सापकोटाका सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रहरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सभामुख सापकोटाको निवासमा कार्यरत सुरक्षाकर्मीमा कोरोनाको संक्रमण पुष्टि भएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । प्रेस सल्लाहकार न्यौपानेका अनुसार कोरोना पुष्टि भएका सुरक्षाकर्मी साउन ६ यता सभामुखको निवासमा भने आएका छैनन् ।

यस्तै, स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले सभामुखको निवासमा कार्यरत सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि सभामुख सापकोटासहित निवासमा कार्यरत सुरक्षाकर्मीहरुको स्वाब संकलनको तयारी गरिएको जनाएका छन् ।