१०९ सहित उपत्यकामा थप १३८ जनामा कोरोना सङ्क्रमण

साउन २८ गते : पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा एक सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौमा एक सय नौ जना, ललितपुरमा २१ जना र भक्तपुरमा आठ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यकामा अहिलेसम्म एक हजार चार सय ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म काठमाण्डौमा एक हजार एक सय ६७, ललितपुरमा एक सय ८० र भक्तपुरमा एक सय पाँच जनामा कोरोना पुष्टि भएको हो ।

उपत्यकामा समुदायस्तरमै कोरोना सङ्क्रमित भेटिने क्रम बढेपछि विज्ञहरुले थप सचेतता अपनाउनुपर्नेमा जोड दिइरहेका छन् ।

बाक्लो बस्ती, आर्थिक क्रियाकलाप तथा जोखिम वर्ग धेरै भएकोले यहाँ कोरोनाको महामारी चर्को हुने भएकाले अहिले नै नियन्त्रणका लागि थप पहल आवश्यक रहेको विज्ञहरुको भनाइ छ । उज्यालो