कोरोनाका कारण करमा छुट दिँदै स्थानीय सरकार

अर्घाखाँची, भदौ २७ गते । कोरोनाका कारण आर्थिक अवस्थामा मन्दी आएपछि यहाँका स्थानीय तहले विभिन्न करमा छुट गरेका छन् ।

जिल्लाको भूमिकास्थान नगरपालिकाले कोरोनाका कारण व्यवसाय बन्द गर्नुपर्ने भएकाले आर्थिक वर्ष २०७६/७७ अर्थात् एक वर्षको व्यवसाय करमा शतप्रतिशत मिनाहा गर्ने निर्णय गरेको छ ।

सबै व्यवसायीहरुको व्यवसाय कोरोनाले चौपट पारेको निष्कर्ष निकाल्दै किराना, साना होटल तथा रेस्टुरेन्ट, कपडा पसललगायत सबैको व्यवसाय कर मिनाहा गरेको नगरपालिकाका प्रमुख रेशम थापाले बताए ।

त्यस्तै सन्धिखर्क नगरपालिकाले व्यवसाय कर, उद्योग व्यवसाय करमा १० प्रतिशत छुट दिएको सन्धिखर्क नगरपालिकाका राजश्व शाखा प्रमुख मुक्ति खनालले बताए । उनका अनुसार विदेशबाट फर्किएर सन्धिखर्क नगरपालिका भित्रमा कुनै उद्योग दर्ता गर्न चाहेमा त्यस्तो व्यक्तिलाई ५० प्रतिशत छुट दिने निर्णय भएको छ ।

कोरोनाका कारण सुपा देउराली मन्दिर बन्द भएपछि उक्त स्थानमा रहेका ट्याङ्कीहरुलाई लकडाउन अवधिको भाडा मिनाहा गरेको छ । सटरहरुको अवस्था हेरी ५० प्रतिशत भाडा छुट गरेको सन्धिखर्क नगरपालिकाका शाखा अधिकृत मञ्जु खनालले बताए । शान्ति बगैँचाका सटरलाई पनि सटरको प्रकृतिअनुसार लकडाउन अवधिको भाडामा ५० प्रतिशत छुट दिएको छ । यहाँका सटरले १० देखि ३० हजारसम्म मासिक भाडा तिर्दै आएका थिए ।

पाणिनि गाउँपालिकाले मालपोत कर बुझाउने समय तीन महिना थप गरेको छ । कोरोनाका कारण स्थानीयवासीमा आर्थिक समस्या हुने देखिएकाले आर्थिक वर्ष २०७६÷७७ को मालपोत कर असार मसान्तसम्म तिर्नुपर्ने भए पनि तीन महिना अर्थात् असोज मसान्तसम्म विलम्ब शुल्क नलिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले जानकारी दिए । व्यवसाय, उद्योगधन्दा धेरै नभएकाले मालपोत कर तीन महिनापछि बुझाए पनि विलम्ब शुल्क नलिने निर्णय भएको उनको भनाइ छ ।