दुई घण्टाको वर्षा धानको लागि वरदान, किसान हर्षित

अजय कुमार झा
जनकपुरधाम, भदौ ३० गते ।
आज बिहान परेको मूसलधारे वर्षाले धनुषाका किसानलाई हर्षित बनाएको छ । धानमा बाली लाग्ने वेलामा परेको वर्षाका कारणले धानलाई निक्कै फाइदा पुग्ने कृषि ज्ञान केन्द्र धनुषाले जनाएको छ ।

बिहान करिब दुई घण्टासम्म परेको वर्षाका कारणले धानको खेत सुक्न थालेको वेलामा खेतमा पुनः पानी जमेको छ । यस वर्ष पटक पटक वर्षा भएका कारणले रासायनिक मलको अभावमा पनि धान बालीको अवस्था राम्रो रहेको प्रदेश नंं २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

यसै गरी वर्षाले तरकारी वाली, दलहनवालीलाई पनि फाइदा पुग्ने भएको छ । धानको खेतको आलीमा लगाइएको रहरलाई पनि फाइदा पुग्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धनुषाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले जानकारी दिनु भयो ।

उहाँले धनुषाको धान खेतमा पानी सुकेर चिरा पर्न थालेको बेलामा भएको वर्षाले धानलाई लाभ पुग्नुका साथै माछालाई पनि फाइदा पुग्ने भएको छ । खास गरेर पोखरीको पानी पनि वर्षाले बढेको र यसले माछालाई निक्कै फाइदा पुगेको प्रमुख तिवारीले जानकारी दिनु भयो ।

धानमा वाला लाग्ने वेलामा खास गरेर युरिया मलको व्यापक अभाव सृजना भएको छ । यस्तो वेलामा वर्षा पनि रोकिएर खेतहरूमा चिया पर्न थालेपछि किसानहरू निक्के चिन्तित बनेका थिए । यसै गरी वर्षा पछि गर्मीमा पनि कमी आएको छ ।