माछाको धन्दाले सुकुम्बासीबाट करोडपति बने मुखिया !

  • अजय अनुरागी

जनकपुरधाम, कात्तिक २३ गते । धनुषाको शहीदनगर नगरपालिका–४ का बौएलाल मुखिया एउटा उत्कृष्ट माछापालक कृषकको रूपमा पहिचान बनाउन सफल छन् । उनी धेरैजसो माछा व्यवसायीका लागि उदाहरणीय प्रेरणाका स्रोत हुन् ।

कुनै बेला डेढ धुर जग्गा मात्र भएर सुकुम्बासी जस्तो जीवन जिउन बाध्य मुखिया व्यावसायिक रूपमा माछापालन गरेर बिघौं जग्गाका मालिक मात्र बनेका छैनन्, करोडपति बन्न सफल भएका छन् । 

माछाका भुरा उत्पादन, माछा उत्पादन  तथा बिक्री वितरणको कामलाई उनले देशभर फैलाएर नेपालको अधिकांश ठाउँमा ‘जनकपुरको माछा’लाई ब्राण्डको रूपमा पहिचान दिलाउन समेत योगदान पुर्‍याएका छन् । 

संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न शहरमा खुलेका माछा पसलमा जनकपुरको माछा आपूर्ति गराएर ‘जनकपुरिया माछा’को छुट्टै ब्राण्ड बनाउन उनले ठूलो योगदान गरेका छन् ।

१९ वर्षको उमेर हुँदा २०२६ सालमा उनको बिहे भएको थियो । त्यतिबेला पञ्चायती व्यवस्था थियो । उनको गाउँ ननुपट्टिका प्रधानपञ्च राजकुमार तिवारीले उनलाई माछा खेतीका लागि प्रेरित गरेका थिए । गाउँमा रहेको एउटा सरकारी पोखरीमा अधियामा माछा उत्पादन गर्न भनेका थिए ।

त्यतिबेला अमेरिकाबाट १ जना माछा विज्ञ आएका थिए । उनले माछापालन गर्नेबारे केही मानिसलाई तालिम दिएका थिए । तालिममा बौएलाल पनि सहभागी भएका थिए । 

‘तालिम त लिएको थिएँ तर पुँजी १ रुपैयाँ पनि थिएन । त्यसपछि गाउँकै १ जना साहुमहाजनबाट कर्जा लिएर माछापालन गर्न थालें,’ उनले भने । २०१६ सालमा जनकपुरमा खुलेको मत्स्य विकास फार्ममा उत्पादन हुने माछाको भुरा किनेर गाउँको पोखरीमा हालेर माछा पालनको शुरूआत गरेको उनले बताए । ‘पोखरीमा आएको मुनाफालाई फेरि अर्को पोखरीको ठेक्का लिनका लागि लगानी गर्थें,’ उनले भने, ‘१ लाख रुपैयाँ मुनाफा भएपछि ४ कठ्ठा जग्गा किनेर आफ्नै २ वटा पोखरी खनाएँ ।’

आफ्नै २ पोखरीमा माछापालनको काम गर्दै आएका उनले त्यतिबेला गाउँकै बुद्धिनाथ महासेठले सञ्चालन गरेको मत्स्य फार्ममा समेत काम गर्न थालेका थिए । उनको फार्ममा आवद्ध भएर पोखरी ठेक्का लिने समेत काम गर्न थाल्दा उनलाई फाइदा हुन थाल्यो । त्यसपछि २०४६ सालमा महासेठको फार्मलाई छाडेर उनले आफ्नै नाममा मुखिया मत्स्य प्रजनन् फार्म दर्ता गराएर आफ्नै नर्सरीमा माछाको भुरा उत्पादन गर्ने तथा बिक्री वितरण गर्ने काम थाले ।

आफ्नो १ कठ्ठा जग्गा समेत नभएका बौएलालले मेहनतका कारण अहिले १२ बिघा जग्गाका मालिक बनेका छन् । ‘म एक्लैले सक्दिनथें होला, मसँगै मेरो श्रीमती बुधनीदेवीले पनि दिनरात कडा मेहनत गरिन्,’ बौएलालले भने, ‘बिहानदेखि रातसम्म उनले काममा सँगै साथ नदिएको भए आजको अवस्था आउँदैन्थ्यो ।’ 

उनले १ वर्षमा १० करोड जति माछाको भूरा उत्पादन गरेर बिक्री वितरण गर्ने गरेका थिए । उनले उत्पादन गर्ने विभिन्न प्रजातिका भुराहरू किन्न देशका विभिन्न जिल्लाका किसानहरू गाउँमै पुग्ने गरेका थिए । अहिले उनले आफ्नो बिरासत छोराहरूलाई सुम्पिएका छन् । 

उनका २ छोरा छन् । जेठा ४६ वर्षीय कन्हैया र कान्छा ४३ वर्षीय रमेश । आफूले कमाएको जग्गा, व्यवसाय सबै दुवै छोरालाई आधा–आधा बाँडेर दिएका छन् । उनका जेठा छोरा कन्हैयाका अनुसार बुवाले माछाको भुरा उत्पादन गरेर वर्षमा २५–३० लाख रुपैयाँसम्म आम्दानी गर्थे, आफ्नो १२ बिघा जग्गाबाहेक २० बिघासम्म जग्गा भाडामा लिएर समेत भूरा उत्पादनको काम गर्थे ।

‘बुवासँगै हामी दुवै दाजुभाइ पनि माछाको काममा लागेकाले भुरा कसरी उत्पादन गर्ने, बजार कहाँ–कहाँ छ, कसरी बिक्रीवितरण गर्ने र रेखदेखसम्मका सीप सिकेका कारण अहिले हामीले आ–आफ्नो तरिकाले बुवाको बिरासतलाई थप फैलाएका छौं,’ जेठा छोरा कन्हैयाले भने, ‘जसरी हामी दाजुभाइले आमाबुवालाई साथ दिएका थियौं, त्यसैगरी हाम्रो काममा समेत हामी दुवै दाजुभाइका श्रीमतीले पनि त्यतिकै साथ दिएका छन् ।’

कन्हैयाले मुखिया माछा फार्म र रमेशले न्यू मुखिया मत्स्य प्रजनन् फार्म सञ्चालन गरेका छन् । बुवाको अंशबाट पाएको ६ बिघा जग्गाको पोखरीबाहेक २० बिघा जग्गा पोखरी भाडामा लिएर भुरा उत्पादन गर्ने काम गर्दै आएको कन्हैयाले बताए । त्यति नै बिघामा उनका भाइले पनि भूरा उत्पादन गर्ने गरेका छन् । 

कन्हैया दम्पतीकन्हैया दम्पती

माछा भुरा उत्पादनको सिजन फागुनदेखि साउनसम्म हुन्छ । ६ महिनाको अवधिमा ८ करोडको संख्यामा भुन्सा माछाका भुरा ७ दिनमा उत्पादन हुने गरेका कन्हैयाले बताए । १ हजार रुपैयाँ प्रतिलाखको दरले भुरा बिक्री हुने गरेको छ । ७ करोडको संख्यामा फ्राई भूरा उत्पादन गरेर १५० रुपैयाँ प्रति सयको दरले बिक्री गर्ने गरेको उनले बताए । १० लाख संख्यामा फिंगर लिंग भूरा उत्पादन गरेर ३०० रुपैयाँ प्रतिकिलोमा बिक्री गर्ने गरिएको छ । ७ लाख जतिको संख्यामा टेबुल फिशको भुरा समेत उत्पादन गरेर २५० रुपैयाँ प्रतिकिलोमा बिक्री गर्ने गरिएको छ ।

दुवै दाजुभाइले घरमा नै बसेर अहिले वर्षमा ५० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । ‘सबै खर्च काटेर २२–२५ लाख रुपैयाँसम्म वार्षिक आम्दानी गर्ने गरेको छु,’ कन्हैयाले भने, ‘त्यति नै भाइ रमेशले पनि आम्दानी गर्ने गर्छन् ।’ रहु, नैनी, बिगहट, कमन कार्प, टिलापिया, भाकुर, सिल्भर कार्प, ग्रास कार्प, रेनबो ट्राउट लगायत विभिन्न प्रजातिका माछाको भुरा नर्सरीमा उत्पादन गरेर देशभर बिक्री गर्ने गर्छन् दुवै दाजुभाइ ।

बौएलालको कामलाई मूल्यांकन गर्दै राजा वीरेन्द्रले २०५७ सालमा उनलाई गोरखा दक्षिण बाहु सम्मानबाट सम्मानित गरेका थिए । २०७५ असार २० गते तत्कालीन कृषिमन्त्री चक्रपाणि खनालले उनलाई उत्कृष्ट कृषकका रूपमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबापत १ लाख रुपैयाँ नगद पुरस्कार समेत प्रदान गरेको थियो ।

माछा उत्पादनको काम शुरू गरेपछि उनले गाउँका धेरै व्यक्तिलाई व्यवसायमा लगाउन सफल भएका छन् । उनले गाउँका दर्जनौं युवालाई माछापालनको सीप सिकाएर पेशातर्पm आकर्षित गरेका छन् । उनका कारण उनको गाउँ ननुपट्टीको पहिचान नै माछा गाउँको रूपमा प्रख्यात भएको छ । एक पटक उनी गाउँ विकास समितिको अध्यक्ष समेत बन्न सफल भएका थिए । 

नेपाली कांग्रेसमा आवद्ध भएर राजनीतिमा समेत लागेका उनका जेठो छोरा कन्हैया अहिले पनि वडाध्यक्षमा निर्वाचित हुन सफल भएका छन् । ‘हामीले राजनीति पैसा कमाउनका लागि गरेका छैनौं, गाउँका मानिसलाई सेवा गर्ने हिसाबले मात्र राजनीतिमा लागेको हो,’ कन्हैयाले भने, ‘पैसा कमाउनका लागि त माछा नै काफी छ ।’