नेपाल र बंगलादेश बराबरीमा रोकियो

मंसिर २ गते : बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण दोस्रो खेलमा नेपाल बराबरीमा रोकिएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपाल घरेलु टोलीसँग गोलरहित बराबरीमा रोकिएको हो । यससँगै दुई खेलको सिरिजको उपाधि बंगलादेशले जितेको छ ।

नेपालले पछिल्लो खेलभन्दा सुधारिएको प्रदर्शन गरेको नेपालले खेल अवधिभर संयमित प्रदर्शन गरेको थियो । बल पोसेसनमा जोड दिएको नेपालले केहि आक्रमण बुनेपनि त्यसमा सफल हुन भने सकेन । बल पकडमा राखेपनि अन्तिम पास निकाल्न भने नेपाली मिडफिल्डलाई कठिनाइ भएको थियो ।

खेलको तेस्रो मिनेटमा दर्शन गुरुङको फ्रिकिक क्लियर भएर आएपछि तेज तामाङले झन्डै ३० यार्ड टाढाबाट गरेको भली गोलरक्षक अशरफुल रानाले बचाए । त्यसपछि दुवै टोलीले आक्रमण बुन्ने प्रयास गरेपनि डिफेन्स लाइन तोड्न भने निकै संघर्ष गर्नुपर्यो । नेपालले खेलको १९ औं मिनेटमा नै खेलाडी परिवर्तन गरेको थियो । कप्तान भरतको स्थानमा नवयुग श्रेष्ठ मैदान प्रवेश गरेका थिए ।

२३ औं मिनेटमा बंगलादेशका सुमन रेजाले पेनाल्टी क्षेत्र बाहिरवाट गरेको प्रहार क्रसबारभन्दा थोरै माथिबाट बाहिरियो । २८ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र सादले उद्दीनले दिएको क्रसलाई अनन्त तामाङले क्लियर गर्दै नेपालको खतरा टारे । ३१ औं मिनेटमा जिबनको क्रसमा सुमन रेजाको प्रहार फितलो हुँदा गोलरक्षक किरण चेम्जोङले सहजै बचाए ।

३३ औं मिनेटमा एरिक विष्टको प्रहारमा अनन्तको हेडरले पोस्टको दिशा लिन सकेन । ३५ औं मिनेटमा विश्वनाथ घोषको लामो थ्रोमा गोलरक्षक किरण झुक्किएपनि बंगलादेशले फाइदा उठाउन सकेन । ३९ औं मिनेटमा बंगलादेशी कप्तान जमाल भुयाँको फ्रिकिकलाई किरणले बचाए ।

दोस्रो हाफमा तेज तामाङको स्थानमा मैदान प्रवेश गर्दै पुजन उपरकोटीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । ५६ औं मिनेटमा नेपालले गोल गर्ने सुवर्ण अवसर खेर फाल्यो । छिरिङ गुरुङको लो क्रसमा नवयुग श्रेष्ठ र सुजल श्रेष्ठ दुवैले पेनाल्टी क्षेत्रभित्र सट प्रहार गर्न सकेनन् । त्यसको दुई मिनेटपछि साद उद्दीनले बढाएको बललाई किरणले अगाडी बढेर रोक्दै खतरा टारे ।लगत्तै अनन्तले उत्कृष्ट डिफेन्स गर्दै बंगलादेशको अर्को आक्रमण विफल पारे ।

७० औं मिनेटमा विकास खवासले प्रहार गरेको लामो दुरीको फ्रिकिक आकासियो । ७१ औं मिनेटमा नेपालले दुई परिवर्तन गर्दै सेसेहाङ आङदेम्बे र रवि पासवानलाई मैदान प्रवेश गरायो । सेसेहाङ दर्शनको स्थानमा र रवि अन्जनको स्थानमा मैदान प्रवेश गरेका थिए ।

इन्ज्युरी समयको पहिलो मिनेटमा रजिन धिमालको फ्रिकिकलाई कप्तान जमालले क्लियर गर्दै खेल बराबरीमा नै राखे । इन्ज्युरी समयको दोस्रो मिनेटमा रजिन धिमालको क्रसमा नवयुग श्रेष्ठको हेडर पोस्टमा लागेर फर्कंदा नेपाल अन्त्तिम समयमा जित दर्ता गर्नबाट बन्चित भयो ।

यस नतिजासँगै सिरिज घरेलु टोली बंगलादेशले जितेको छ । पहिलो खेल २-० ले जितेको बंगलादेशले एक जित र एक बराबरीसँगै उपाधि घरेलु मैदानमा राख्न सफल रहयो ।