विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिना विजयी

मंसिर ३ गते : सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजील र अर्जेन्टिना विजयी भएका छन् । बुधबार बिहान भएको खेलमा ब्राजिलले उरुग्वेलाई २–० गोल अन्तरले पराजित गरेको हो। उरुग्वेको मैदानमा ब्राजिललाई जीत दिलाउन आर्थर र रिचार्लिसनले एक एक गोल गरे ।

खेलको ३४ औं मिनेटमा आर्थरले गोल गर्दै ब्राजीललाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । खेलको ७१ औं मिनेटमा एडिनसन काभानी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि उरुग्वे १० खेलाडीमा समेटियो । उरुग्वे फरवार्ड लुइस सुआरेज बिना नै मैदान उत्रिएको थियो । कोरोना संक्रमण भएपछि उनले ब्राजिलविरुद्धको खेल गुमाएका हुन् ।

योसँगै ब्राजीलले सुरुवाती ४ खेलमा लगातार जीत हात पारेको छ । छनोटको शीर्ष स्थानमा रहेको ब्राजिलले ४ खेलमा १२ अंक जोडेको छ । उरुग्वे ४ खेलमा ६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । अर्को खेलमा इक्वेडरले कोलम्बियालाई ६–१ ले पराजित गरेको छ । चिली भेनेजुएलासँग २–१ ले पराजित हुँदा पाराग्वे र बोलिभियाले २–२ गोलको बराबरी खेलेका छन् ।

बुधबार बिहान नै भएको अर्को खेलमा अर्जेन्टिनाले पेरुलाई उसकै मैदानमा २–० ले पराजित गरेको छ । अर्जेन्टिनाको जितमा निकोलास गोन्जालेज र लउटारो मार्टिनेजले १–१ गोल गरे ।

खेलको १७ मिनेटमा नै गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए भने २८ औं मिनेटमा मार्टिनेजले अग्रता दोब्बर पारे । यो सँगै अर्जेन्टिनाले सुरुवाती ४ मध्ये ३ जीत र एक बराबरीको नतिजासहित १० अंक जोडेर छनोट तालिकााको दोस्रो स्थानमा रहेको छ । एजेन्सी