एजेन्सी
वासिङ्टन,मंसिर ३ गते : अमेरिकामा कोरोना भाइरसको तीब्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले अनुमति दिएको छ ।
आपतकालीन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलो पटक यस्तो अनुमति प्रदान गरिएको हो । घरमा समेत प्रयोग गर्न मिल्ने यस विधिले ३० मिनेटमा नै कुनै व्यक्तिलाई कोरोना संक्रमण भएको छ छैन भन्ने नतिजा देखाउने जनाइएको छ ।
अमेरिकाको नियामक निकायको रूपमा रहेको खाद्य तथा औषधिसम्बन्धी कार्यालयले यसलाई कोरोना भाइरस नियन्त्रणका लागि एउटा महत्त्वपूर्ण कदमको रूपमा लिएको छ । अहिले प्रारम्भिक चरणमा यो विधिलाई सीमित ठाउँमा र सीमित अवस्थामा मात्रै प्रयोग गर्न दिइने अधिकारीले जनाएका छन् ।
प्रयोगका लागि अनुमति दिइएको औषधि क्यालिफोर्नियाको औषधि उत्पादक कम्पनी लुकिरा हेल्थले उत्पादन गरेको हो । बिरामी आफैँले नाकबाट स्वाब परीक्षण गर्न मिल्ने र औषधि प्रयोग गर्न सक्ने पनि कम्पनीका अधिकारीले जानकारी दिएका छन् ।
अमेरिकामा हाल घरमै पनि व्यक्तिले स्वाब लिएर परीक्षणका लागि प्रयोगशालामा पठाउन सक्छन् वा तोकिएका स्वास्थ्य केन्द्रमा गएर परीक्षण गर्न सक्छन् तर परीक्षणको नतिजा प्राप्त गर्न लामो समय पर्खिनु पर्दछ ।