कोरोनाको उपचार निःशुल्क नगर्ने अस्पताललाई सरकारले कारवाही गर्ने

काठमाडाैं, मंसिर ४ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारको निर्णय अनुसार कोभिड–१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियम अनुसार कारवाही गरिने बताए । उनले सबै अस्पताललाई संक्रमितको उपचार निःशुल्क गर्ने भनी परिपत्र र निर्देशन दिइसकेको जानकारी दिँदै केही अस्पतालले अझै निःशुल्क उपचार नगरेको जनगुनासो आएकाले त्यस्ता अस्पताललाई नियम अनुसार शोध भर्ना रकम उपलब्ध गराइने जानकारी दिए ।

कोभिड–१९ को उपचारबापत अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश–२०७७ परिमार्जन गरी मन्त्रालयले कोभिड–१९ उपचारका लागि सूचीकृत अस्पताललाई कोभिड–१९ को लक्षण भएका वा चिह्न देखिएका व्यक्तिको पीसीआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । उपचार गरेबापत अस्पताललाई शोधभर्ना रकम मन्त्रालयले उपलब्ध गराउने छ ।

सरकारले कोरोना बीमा गरेको हकमा भने बीमा रकमबाट तथा सक्षम, इच्छुक र योगदान गर्ने चाहनेले उपचारमा योगदान गर्न सक्ने भनेको छ ।