छठ पर्वको पूर्व सन्ध्यामा जनकपुरमा केरा किन्नेहरुको भिड

  • सुमित मिश्र

जनकपुरधाम, मंसिर ४ गते । कोरोना भाइरसको संक्रमणबीच छठ पर्वको तयारीमा श्रद्धालुहरु लागेका छन्। छठको पूर्वसन्ध्यामा तराई मधेशका फलफूल मण्डीमा केरा किन्न आउनेहरुको भिड बढेको छ।

छठ पर्वको प्रमुख प्रसादको रुपमा प्रयोग हुने केराका साथै अन्य सामाग्री किन्न जनकपुरधामका प्रमुख बजारहरुमा भिड लागेको हो।

प्रत्येक वर्ष जस्तै यसवर्ष पनि केराको बिक्री छठ पर्वको पूर्व सन्ध्यामा व्यापक वृद्धि भएको व्यापारीहरुले बताएका छन्। यद्यपि अन्य वर्षहरुभन्दा महँगो मूल्यमा श्रद्धालुहरु केरा किन्न बाध्य भई रहेका छन्। केही साता अगाडी ४० देखि ५० रुपैयाँ प्रति दर्जन बिक्री हुने केरा छठ पर्वको पूर्व सन्ध्यामा ७०देखि ८० रुपैयाँसम्म पुगेको छ।

मागको तुलनमा केराको आयात कम भएकोले पनि मूल्य महँगिएको जनकपुरधामस्थित फलफूल मण्डीका पूर्व महासचिव भूवनेश्वर पूर्वेले बताए। पूर्वेका अनुसार जनकपुरधाम बजारमा पछिल्लो वर्ष ८० ट्रक केराको आयात गरिएको थियो यो वर्ष ६० ट्रक केरा मात्रै आयात गरिएको छ।

पूर्वेले भने ‘पछिल्लो वर्ष केरा मात्रै ५ करोड मूल्य बराबरको आयात गरिएको थियो। यो वर्ष ३ करोडको केरा मात्रै आयात गरिएको छ।’ 

जनकपुरधाम बजारमा केरा भारतको हाजीपुर, आसाम, समस्तीपुर, सीतामढी लगायतका क्षेत्रबाट आयात गरिँदै आएको छ। कोरोना संक्रमणलाई मध्यनजर गर्दै यस वर्ष नवलपरासीको त्रिवेणीबाट पनि केरा बढी मात्रामा आयात गरिएको छ।

भारतबाट करिब २ करोड मूल्य बराबरको ४० ट्रक केरा आयात गरिएको छ भने नवलपरासीबाट एक करोड रुपैयाँ बराबरको २० ट्रक केरा आयत गरिएको छ।