सामूहिक बलात्कार प्रकरण : मिलापत्र गराउन जनप्रतिनिधि नै तम्सिए

सांकेतिक तस्विर

मंसिर ७ गते । पश्चिम नवलपरासीमा १५ वर्षीया बालिका पुनम कार्की (परिवर्तित नाम) माथि भएको सामूहिक बलात्कारको घटनामा मिलापत्र गर्न जनप्रतिनिधिले नै दबाब दिएको खुलासा भएको छ । पाल्हीनन्दन गाउँपालिका–२ पश्चिम नवलपरासीकी १५ वर्षीया पुनममाथि २६ कात्तिकमा भएको सामूहिक बलात्कार घटनामा आरोपितका आफन्तदेखि नगरपालिकाकी उपप्रमुख पवित्रादेवी कोहारसम्मले मिलापत्रका लागि दबाब दिएको पीडित परिवारले बताएको छ । बलात्कारजस्ताे जघन्य अपराधमा मिलापत्र गराउनु गैरकानुनी कार्य मानिन्छ ।

घरबाट पानी लिन नल पुगेका बेला राति करिब ९ बजे ती बालिकामाथि ७ जनाले सामूहिक बलात्कार गरेका थिए । तीमध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य पाँच जनालाई बालिकाले नचिनेकाले उनीहरूबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए ।

पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–२ का १७ वर्षीय किसन केवट र १६ वर्षीय कृष्ण गुप्ता (तेली) रहेका छन् ।

पीडित परिवार भन्छ : उपप्रमुखले प्रलोभन देखाइन्
पीडित परिवारका अनुसार पाल्हीनन्दन गाउँपालिकाकी उपप्रमुख कोहार, जो नगर न्यायिक समितिकी संयोजक पनि हुन्, उनले नै पैसामा घटना मिलाउन दबाब दिएकी हुन् । ‘पैसा कति चाहिन्छ, लैजाऊ । घटना मिलाउनुपर्‍यो । मुद्दामामिला गर्दा वकिल धनी बन्छ, सरकार धनी बन्छ । हामीले केही पाउँदैनौँ । मिलापत्र गरे पैसा हामीलाई हुन्छ’, उपप्रमुख कोहारले भनेका कुरा सुनाउँदै पीडित परिवारका एक सदस्यले भने ।

बलात्कार आरोपमा पक्राउ परेका युवकहरू नेपाली कांग्रेसनिकट परिवारका सदस्य हुन् । कोहार कांग्रेसको कोटाबाटै निर्वाचित उपप्रमुख हुन् । त्यसैले पीडित परिवारको घरमै पुगेर उनले मिलापत्रका लागि प्रलोभन देखाउने, दबाब दिने गरेको पीडित पक्षको भनाइ छ ।

घटना मिलाउन आरोपित १६ वर्षीय कृष्ण गुप्ताकी आमा र अंकल पर्ने जितेन्द्र गुप्ताले पनि पीडितलाई दबाब दिइरहेका छन् ।

प्रलोभन देखाउँदै भिडियो बनाए
पीडित परिवारले किटानी जाहेरी दिएकाले मुद्दा अदालती प्रक्रियामा गइसकेको छ । तर, आरोपितका आफन्तदेखि जनप्रतिनिधिसम्मले जिल्ला प्रहरी कार्यालय नवलपरासीअगाडि आएरसमेत पैसाको प्रलोभन देखाएको पीडित परिवारको भनाइ छ ।

‘जाहेरी दर्ता गर्नुअघि फोटोकपि गर्न बाहिर निस्कँदा बालिकाका बुबालाई प्रलोभन देखाउँदै आरोपित कृष्णकी आमालगायतले भिडियोसमेत बनाए’, जाहेरी दिएर फर्किएका पीडित बालिकाका एक आफन्तले भने, ‘बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गर्न लागेको भन्दै उहाँ (बालिकाका बुबा) लाई नै ४ घण्टा प्रहरीले थुन्यो । मलाई त लागेको थियो, बार्गेनिङ गर्दै भिडियो बनाउने उनीहरूलाई प्रहरीले थुन्नेछ ।’

बलात्कारमा परेकी बालिका सोही रात भागेर नजिकै रहेकाे भारतीय नाका ठुठीबारी पुगेकी थिइन् । बिहानको राति ३ बजे नाकामा पुगेकी उनलाई भारतीय प्रहरीले सोधपुछ गर्दा बालिकाले आफ्ना बुबाले काम गर्ने स्थानमा जान लागेको बताएपछि प्रहरीले त्यहाँका एक व्यापारीलाई भेटाइदिएको थियो । ती व्यापारीले फोन गरेर बोलाएपछि बुबाछोरीको भेट भयो र घटना बाहिर आएको हाे ।

जिल्ला प्रहरी कार्यालयले भने घटनामा अनुसन्धान भइरहेको बताएको छ । ‘मिलापत्र गर्न कसैले दबाब दिइरहेको भन्ने जानकारी पीडित पक्षले हामीलाई गराएको छैन । सामूहिक बलात्कारजस्तो गम्भीर अपराधमा हामीले कसैको दबाब वा प्रभावमा पर्ने कुरै छैन’, जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता राजु लामाले भने, ‘घटनाबारे स्पष्ट छानबिन हुन्छ, दोषीले सजाय पाउँछ ।’

फरार रहेका पाँच जनाको खोजी तीव्र पारिएको उनले बताए । मुद्दा अदालतमा पुगिसकेकाले सबै छिनोफानो अब अदालतबाटै हुने उनको भनाइ छ ।

उपप्रमुख भन्छिन् : मैले कुनै दबाब दिएकी छैन
यता, पाल्हीनन्दन गाउँपालिकाकी उपप्रमुख पवित्रीदेवी कोहारले आफूले घटना मिलापत्रका लागि कुनै खालकाे दबाब नदिएको बताइन् । ‘म न्यायिक समितिमा रहेकाे मान्छेले त्यस्तो गर्छु होला त ? गलत कुरा हो’, उनले भनिन्, ‘मैले त यस्ता अपराधीलाई झन् कडा कारबाहीको माग गरेकी छु’, उनले भनिन् । शिलापत्र