बर्दिवासमा स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी

द पब्लिक टुडे
बर्दिवास, मंसिर १० गते
। महोत्तरीको बर्दिवासमा निषेधाज्ञा जारी गरिएको छ ।

बर्दिवास नगरपालिका–१४ शुभम् बस्तीका ६ वर्षीय बालिका गुलाब साह खातुनको निर्मम हत्या गर्ने दोषीलाई कडा कारवाहीको माग गर्दै भएको आन्दोलनमा भीड नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीले बर्दिवास नगरपालिका–१ ४० वर्षिय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएपछि बर्दिवासमा पुनः हुन सक्ने आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गरेको हो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले थप जनधनको क्षति हुनबाट रोक्नको लागि निषेधाज्ञा जारी गरेको बताए ।

निषेधाज्ञा बुधवार बिहान ९ बजेदेखि बिहीवार बिहान ६ बजेसम्मका लागि जारी गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

यता, बर्दिवासका स्थानीयले विहानैदेखि चोकमा टायर बालेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन् । बर्दिवास बजार पूर्णरुपमा बन्द गरिएको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिती रहेको छ ।

यसैबीच, मृतक संजयको घर अगाडि शुभचिन्तक, व्यापारी लगायत सर्वसधारहरु अहिले जम्मा भएका छन् ।