सौरभ गांगुलीलाई हृदयघात, अस्पताल भर्ना

File Photo

एजेन्सी : भारतीय क्रिकेट टोलीका पूर्वकप्तान तथा बीसीसीआईका अध्यक्ष सौरभ गांगुली अस्पताल भर्ना भएका छन् । छातीमा पीडा भएपछि उनलाई कोलकातास्थित वुडल्याण्डस अस्पताल भर्ना गरिएको पीटीआई र एएनआईलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ ।

स्क्रोल डट आइइन, इन्डिया टुडेले भने गांगुलीलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको बताएका छन् ।

एएनआईसँग कुरा गर्दै गांगुली निकट स्रोतका अनुसार गांगुलको छातीमा पीडा भएपछि अस्पताल भर्ना गरिएको र उनलाई एन्जियोप्लास्टीको अवश्यकता हुनसक्छ । ‘दादा (सौरभ) ले छाती दुखेको सुनाएपछि उनलाई तुरुन्तै अस्पताल लगियो । उनलाई एन्जियोप्लास्टीको आवश्यकता पर्न सक्छ । उनी खतरामुक्त छन्,’ स्रोतले भन्यो ।

बीसीसीआईका अध्यक्ष बुधबार मात्र इडन गार्डन पुगेर आगामी सायेद मुस्ताक अली ट्रफी आयोजना गर्ने बारे क्रिकेट बोर्ड अफ बंगाल (सीएबी) सँग छलफल गरेका थिए । शनिबार बिहान भने उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ ।