- राजकरण महतो
मिरमिरे बिहानीमा सूर्यको लाली उनको दैलोमा टेक्दै थियो । त्यस भन्दा पहिले म उनको दरबजामा पुगिसकेको थिए । चन्द्रकला देवी आगान बडार्दै घरबाट बाहिर निस्किन । बर्षदिन अघि म उनको दैलो मा पुगेको थिए ।धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरकी चन्दैकलाको २४ बर्षीय छोरो दिलीप(ओमप्रकाश) महतोलाई गत बर्ष २५ पुष २०७६ मा क्रसर डनले क्रुरुर हत्या गरेका थिए ।छोरो यो संसारमा अझै जीवित छ भन्नेमा चन्द्रकला अझै विश्वास गर्छिन् । गतबर्ष बिहान घरबाट खोला गएको छोरो फर्किने उनले भन्दै थिइन् ।
चुरियामाई बालुवा प्रशोधन उद्योग श्रीपुरका क्रसरधनी स्थानीय विपिन महतोले ५० हजार खर्चेर हत्या गराएका थिए ।२९ माघ, २०७६ मा धनुषा जिल्ला अदालतका न्यायाधिस केशव प्रसाद घिमिरेको आदेशमा क्रसरधनी विपिन, उनका क्रसरमा काम गर्ने लोडर चालक महोत्तरी बर्दिबास नगरपालिका–१२ बिजलपुरास्थित चल्की टोलका जितेन्द्रकुमार महतो र बर्दिबास नगरपालिका–९ पशुपतिनगरका टिपर चालक मुनिन्द्र महतो सिन्धुली करागारमा पुर्वपक्षमा छन् । अबैध उत्खन्न गरि लोड गरि लैजाँदै गरेको टिपरको दिलिपले मोवाइलले फोटो खिचेका थिए । त्यसपछि विपिनले उनलाई लिभरले कुटेका थिए। कुटाइबाट गम्भीर घाइते दिलीपको हत्या गर्ने योजना खोलामै बनेको थियो।
टिपरले किचेर हत्या गराउन क्रसरधनी विपिनले टिपर चालक मुनिन्द्रसँग ५० हजारमा डिल गरेका थिए। ‘तँलाई ५० हजार दिन्छु, मारेर यसलाई सडक दुर्घटना बनाइदे ।यसले हाम्रो व्यापारमा धेरै दुःख दिइरहेको छ। यसलाई मार्नै पर्छ, नत्र हाम्रो व्यापार नचल्ने भयो’, विपिनले टिपर चालकसँग हत्या गर्नुअघि गरेको डिलबारे स्रोतले जानकारी दिँदै भन्यो। कुटपिटबाट बेहोस भएका दिलीपलाई खोलामै लोडर चालक, टिपर चालक,क्रसरवलाले मिलेर लिकमा राखेर उनलाई ना.७ ख ६४१३ नम्बरको लोड टिपर ब्याक गरेर हत्या गरेका थिए ।
बर्षदिन अघि भएको दिलिपकोे हत्याले उनकी आमा चन्द्रकला देवीको आँखाबाट आँसु झर्न रोकिएको छैन। चन्द्रकलाको आँखाबाट झरेका आँसु पुच्छनेहरूको पनि आँसु रोकिएको छैन। दिलिपको हत्यापछि उनको परिवारमा परेको दुःख बुझ्न जाँदा चन्द्रकला भक्कानिन् । उनको आँसु पुच्छन छोरी संगम आइन् । उनीपनि रुन थालिन् ।एकै छिनमा सन्नटा छायो ।सबैको बोली हरायो । उनको परिवारमा एक प्रकारले आकाश खसेको भान भइरेको थियो ।
अबैध उत्खनन रोक्न उनका छोरा एका बिहानै साथी रोशन कुमार यादवसंग खोलामा गएका थिए । छोरोको मृत्यु भएको बर्षदिन बित्यो तर, छोरा अझै घर फर्किएर आउने बाटो हेरेर आमा चन्द्रकला बस्छिन् । दिलिप आफ्नो परिवारको जेठो छोरो थिए । उनलाई परिवारजनले ऋण काढेर भारतमा इन्जिनियर पढाइरहेका थिए । परिवारमा २० लाख ऋण लगेको थियो, उनलाई पढाउन उन, हुर्काउन । कमाएर तिर्ने उनमैमा परिवारको आँट, भारोसा थियो । तर, निर्दयीले फूलनै लागेको कोपीलाई निमोठिदिए ।
दिलिपको हत्यापछि अहिले चन्द्रकलाको परिवारमा दुःखको पहाड उभिएको छन् । छोरो सम्झिना साथ चन्द्रकलाको आँखाबाट बलिन्धारा आँसु बग्छ । पुत्र वियोगले उनी छटपटिरहेकी छन् । हरेक बिहान उनी छोरोको सम्झनाले दुःखको समुन्द्रमा डुबछिन् । हत्याराहरु अझै गाउँमा खुलमखुल्ला घुमिरहेका चन्द्रकलाले बताइन् ।
‘२४ औं घण्टा मन भैइरहन्छ कि खोलामा गएको मेरो छोरो कति खेर फर्केर घर आउँछ, मनमा सन्तोष भइरहेको छैन,’चन्द्रकला भन्छिन्,‘ मेरो छोरो फर्केर घर फर्केर आएको ज्यूँदो मुख हेर्न पाएको भए सन्तोष हुन्थयो ।’
नौं महिनासम्म गर्भमा राखेर आमाले सन्तान जन्माउँछिन् ।‘फूल जस्तो बेटालाई पेचक्सले घोचेर दुशमनाहरुले टिपर चलाएर पिचेर ज्यान लियो,’उनले थपिन्, ‘मेरो छोरोलाई दुशमनहरुले हात लगायो भनेर थाहा पाएको भए आधि प्राणमा पनि बचाएर ल्याउँथें ।’
दिलीपको घरभन्दा पूर्वपट्टी औरही खोला । क्रसरवलाहरुले जथाभावी बालुवागिट्टी उत्खनन गरेर दुःख दिइरहेका छन् । खोला दोेहनले बर्षातमा आएको बाढीले धार फेरर उब्जाउ जग्गा कटान गर्ने र हिउँदमा खानीपानीको मुहान सुक्ने समस्या छ । अबैध उत्खनन रोकेर यो समस्याबाट गाउँलेलाई सधैंका लागि उनी छुटकारा दिलाउन चाहन्थें । चुरे माफियाहरु दोहन गरेर रातारात करोंडपति बन चाहन्थें । दिलिप इन्जिनियर पढ्दैं थिए, उनले प्रकृतिलाई राम्रोसंग बुझेका थिए । उनको बोलीमा गाउँलेहरु साथ दिन्थें । उनको बोलिले क्रसरबलालाई अबैध उत्खन्न गर्न अबरोध हुन्थ्यो । त्यो अबरोधले क्रसर डन र खोला ठेक्केदारलाई पचेन ।त्यसपछि उनी तस्करहरुको तगारोमा परेका थिए ।
गत बर्ष २५ पुसको मध्यरातमा क्रसरवालाले नदीजन्य पदार्थको उत्खनन गरे तस्करी गर्दै थिए । झिसमिसे बिहानीमा गाउँकै साथी रोशन यादवसंग रोक्न खोलामा गएका थिए । गुण्डाको भेषमा क्रसरका लागि खोला खन्दैं गरेकाहरु उनलाई कोसमा पेसक्स घोचेर लडाइदिए । बेहोस भएका उनलाई लिकमा हालेर टिपरले किचेर हत्या गरे ।
दिलीपका वुवा रामजीवन महतोले हत्याराहरु अझै गाउँमा डुलिरहेको बताएका छन् ।‘न्यायका लागि प्रहरी र अदालतमा धाउँदा धाउँदा पैताला खिइसक्यो,’उनले भने,‘सात जना उपर किटानी जाहेरी दिएको थिए । तीन जना मात्रै जेलमा छन् । चार जनालाई अदालतले धरौटीमा छोडेको छ ।’ दिलीपको आवाज दबाउन गुण्डाहरुले योजना बनाएर हत्या गरेको बताउँदै उनले थपें, ‘धरौटीमा छुटेकाहरु अहिले मुद्धा अगाडी बढाइस् भने बलमे उडाइदिने धम्की दिइरहेका छन् ।’
धनुषा जिल्ला अदालतले जुन दिन तीन जनालाई कारागारमा पूर्वपक्ष गर्ने फैसला सुनायो । त्यही दिन अन्य पक्राउ परेका तीन जनालाई जनही २५ हजार धरौंटी लिएर तारिखमा छाडिएको थियो ।
धरौंटीमा छुट्नेहरुमा दिलीपका साथी रोशन, टिपरका सहचालक सत्यनारायण यादव र क्रसरमा मिस्तिरी शत्रुधन यादव छन् । दिलीपको हत्या हुँदा यि तीनै जना घटना स्थलमा थिए ।‘तीनै जनाले रोकेको भए मेरो छोरो अहिले बाचेका हुन्थें,’मृतकका वुवाले भने,‘त्यसैले उनीहरुलाई तत्काल पक्राउ गरेर जेल हाल्नु पर्छ ।’ क्रसरधनी विपिनका दाजु विनोदलाई पनि पीडित पक्षले दिलीपको हत्या घटनाको योजनाकार भन्दै किटानी जाहेरी दिएका थिए । उनलाई पनि प्रहरीले छोडेको पीडित परिवारको भनाई छ ।
धरौटीमा छुटेकाहरुलाई पक्राउ गर्नु पर्नेमा गर्दै रामजीवनले ४ फाल्गुण २०७६ मा उच्च अदालत जनकपुरधाममा पुनरावेदन गरेका थिए ।वरिष्ट न्यायधिश खडानन्द गौतमले जिल्ला अदालतकै फैसलालाई सदर गरिदिएको मृतक दिलिपका वुवाले बताए ।‘अब सर्वोच्चमा गएर अपराधी विरुद्धको लडाई लड्छु,’उनले भने ।
प्राकृतिक श्रोतसाधनको संरक्षण गर्ने क्रममा दिलिपको ज्यान गएकोले उनलाई पर्यावरण शहिद घोषणा गर्न परिवारजनहरुले सरकारसंग माग गरेका छन् ।उनको नामबाट प्रतिष्ठान गठन गरेर समाजिक अभियानीहरुले यो माग अघि बढाएका हुन् ।
Discussion about this post