प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजबाट निरन्तर सुनुवाइ

File Photo

काठमाडौं,माघ ४ गते : प्रतिनिधिसभा विघटनविरूद्द दायर रिटमा आजबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाई हुने भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धि १३ वटा रिट संवैधानिक इजलाशमा विचाराधीन छ ।

प्रतिनिधिसभा विघटनको विषय बृहत् पूर्ण इजलासको क्षेत्राधिकारभित्र पर्ने भन्दै दायर निवेदनमा शुक्रबार संवैधानिक इजलाले बृहत् पूर्णमा लैजानु नपर्ने निर्णय गरेको थियो । इजलासको क्षेत्राधिकारको विषय टुंगिएपछि अब संवैधानिक इजलासमै प्रतिनिधिसभा विघटनविरूद्दको मुद्दामा नियमित सुनुवाई हुनेछ ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि सो कार्य असंवैधानिक भन्दै दायर रिट पुस ८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलाशले संवैधानिक इजलासमा पठाएको थियो । पुस १० गते संवैधानिक इजलाशले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने निर्णय, राष्ट्रपतिलाई पठाइएको सिफारिस पत्र, राष्ट्रपतिले विघटन सिफारिस जारी गरेको सक्कल प्रति मगाएको थियो ।

शुक्रबार बहसका क्रममा मिसिलबाट सिफारिसको सक्कलप्रती नभेटिएको भन्दै निवेदक पक्षका कानुन व्यवसायीले प्रश्न उठाएका थिए । प्रतिनिधिसभा विघटनको सिफारिसमा संविधानको धारा उल्लेख नगरिएको तर, राष्ट्रपतिले विघटन गर्दा धारा उल्लेख गरेको भन्दै श्रेष्ठले निर्णयको सक्कदप्रति सिल गर्न माग गरेका थिए ।

प्रतिनिधिसभा विघटन गर्दै राष्ट्रपतिले वैशाख १७ र २७ मा दुई चरणमा गर्नेगरि निर्वाचन घोषणा गरेकी छन् । बाह्रखरी