काठमाण्डाै, फागुन १० गते : प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभा पुनर्स्थापना भएपनि आफ्नो राजनीति नसकिने बताएका छन्।
कञ्चनपुरको दैजीमा रहेको छेला औधोगिक क्षेत्र शिलान्यासपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको केही दिनमा अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी विषयमा फैसला गर्ने भन्दै पुनर्स्थापना भएपनि वा नभएपनि आफ्नो राजनीति नसकिने बताएका हुन्।
उनले आफूले अदालतलाई धम्की वा दबाब नदिएको दाबी पनि गरे। ‘अहिले प्रतिनिधि सभा विघटन भएको छ । देश चुनावतर्फ अघि बढेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘केही मान्छेहरु यस्तो भयो भने आफ्नो राजनीति सकिन्छ भनेर छटपटाइरहेका छन्। तर, हाम्रो राजनीति जे भएपनि सकिँदैन।’
उनले केही दिनअघि विराटनगरमा गरेको सम्बोधनलाई स्मरण गर्दै आफूले आन्दोलन गर्ने भनेर नाराजुलुशतर्फ संकेत नगरेको स्पष्ट पारे। ‘मैले त देश बनाउने आन्दोलन, लोकतन्त्रलाई बलियो बनाउने आन्दोलन भनेको थिएँ। उनीहरुले त नारा जुलुश बुझेछन्’, ओलीले भने, ‘राजनीति, अर्थतन्त्र, सामाजिक पक्ष, संस्कृति सबै पक्षको आन्दोलन निरन्तर चलिरहन्छ भनेको हुँ। नारा जुलुश गर्ने, ढुंगा मुढा गर्ने आन्दोलन भनेको होइन।’
संसद पुनर्स्थापना भए देशमा फेरि अस्थिरता उत्पन्न हुने र पहिलेकै समस्याहरु दोहोरिने उनले चेतावनी दिए। ‘पुनर्स्थापना भए के हुन्छ? फेरि प्रधानमन्त्री खोज्न हिँड्नुपर्छ। त्यसका लागि पार्टीहरु खोज्नुपर्छ’, उनले भने, ‘कसैको बहुमत पुग्दैन। भागबण्डाको राजनीति, खरिदबिक्री, अस्थिरता फेरि सुरु हुन्छ।’
ओलीले आफूहरु जनताको घर बनाउने, शिक्षा, स्वास्थ्य, रोजगारीको अभियानमा लागेको तर संसद पुनर्स्थापना भए ती सबै योजनाहरु अवरुद्ध हुने दाबी पनि गरे।
Discussion about this post