एजेन्सी, फागुन ११ गते : अस्ट्रेलियामा फेसबुकले लगाएको न्यूज फिडमाथिको प्रतिबन्ध फुकुवा गरेको छ। अब अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार लिङ्क सेयर गर्न र पढ्न पाउने भएका छन्।
अस्ट्रेलिया सरकारको एउटा प्रस्तावित कानूनको विरोधमा गत बिहीबारदेखि फेसबुकले अस्ट्रेलियाबाट र अस्ट्रेलिया ठेगाना भएका व्यक्तिलाई समाचार लिङ्क सेयर गर्न र हेर्न नमिल्ने बनाइदिएको थियो।
अस्ट्रेलियाले प्रस्ताव गरेको कानूनमा गुगल र फेसबुकले समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने प्रावधान राखिएको थियो। अस्ट्रेलियाका एक वरिष्ठ अधिकारीले फेसबुकमा न्यूज पेजहरू आगामी दिनमा फेरि खुल्ने बताएका छन्।
उनका अनुसार त्यसका लागि कानूनमा संशोधन गरिनेछ। ठूला प्रविधि कम्पनी र समाचार उत्पादन गर्ने संस्थाबीच समाचार सामग्रीको मूल्यबारे ‘न्यायोचित’ संवाद होस् भन्ने आफ्नो कानूनको उद्देश्य भएको अस्ट्रेलिया सरकारले जनाएको छ।
विश्वभरि नै चासोपूर्वक हेरिएको नियमनसम्बन्धी यो विषयलाई फेसबुक र गुगलले विरोध गरेका थिए। फेसबुकले अस्ट्रेलिया सरकारसँग भएका छलफलहरूबाट आफू ढुक्क भएको जनाएको छ।
Discussion about this post