महोत्तरीको गौशालामा ‘उद्योग ग्राम’ बन्दै, यस्तो छ योजना !

द पब्लिक टुडे
गौशाला, चैत १८ गते ।
महोत्तरीको गौशालामा ‘उद्योग ग्राम’ बन्ने भएको छ ।

महोत्तरीको गौशालामा ‘उद्योग ग्राम’ निर्माणका लागी गौशाला नगरपालिका तथा उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्रालय बीच लिखित सम्झौता भएको छ । उद्योग मन्त्रालयका सह–सचिव बलराम रिजाल र गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

६ महिना अघि गौशाला नगरपालिकाले उद्योग ग्राम निर्माणका लािग डीपिआर तयार पारेर उद्योग मन्त्रालयमा बुझाएको थियो । उद्योग ग्रामको पूर्वधार निर्माका लागि ३३ करोंड खर्च हुने अनुमान गरिएको छ ।

‘पहिलो चरणमा उद्योग ग्राम निर्माणका लागि उद्योग मन्त्रालयले ९२ लाख रकम गौशाला नगरपालिकाको खातामा पठाइएको छ,’ गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रजंग थापाले भने ।

गौशाला नगरपालिका वडा नम्बर ८ बेलगाछीस्थित सोनी खोला नजिकै रहेको १२ विघा सार्वजनिक जग्गामा उद्योग ग्राम निमार्ण हुन लागेको छ ।

असार मसान्त भित्रैमा उद्योग ग्रामका लागि प्रस्ताबित जग्गाको घेराबेरा, प्रशासनिक तथा सुरक्षा भवन निर्माण, विधुतको व्यवस्थापन, संचार, बाटोघाटो, स्वास्थ्य चौकी लगायत उद्योग ग्रामलाई चाहिने आधारभूत पूर्वधार निर्माणका लागि सार्वजनिक बोलपत्र अह्वान गरिन लागेको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले बताए ।

पूर्व शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री तथा महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद् गिरिराजमणी पोखरेलको पहलमा महोत्तरी जिल्लाकै पहिलो उद्योग ग्राम गौशालामा निर्माण हुन लगेको हो । उद्योग ग्रामको सबै पूर्वधार निर्माण भएपछि उद्योग संचालन गर्न चाहने उद्योगीलाई गौशाला नगरपालिकाले जग्गा उपलब्ध गराउने छ । जग्गा उपलब्ध गराएबाप्त उद्योगीले नगरपालिकालाई तोकिएको अनुसार कर तिर्नु पर्ने छ ।

नागरिकलाई प्रत्यक्ष रोजगारी प्रदान गर्न सकिने खालेको साना तथा मझौला खालको उद्योग स्थापना गरिने छ ।उद्योग स्थापना भएपछि गाउँ स्तरमा रहेको बेरोजगारी समस्या समाधान हुने छ ।