महोत्तरीको बर्दिबास आउँदै अर्थमन्त्री, उद्यमी व्यवसायी उत्साहित

File Photo

द पब्लिक टुडे
बर्दिबास, चैत १८ गते ।
महोत्तरीको बर्दिबास नगरक्षेत्रका उद्यमी, व्यवसायी उत्साहित भएका छन् । आफ्नो नगरमा अर्थमन्त्री विष्णु पौडेल आउने कुराले यहाँका उद्यमी, व्यवसायीमा उत्साह छाएको हो । अर्थमन्त्री पौडेल यही चैत ३१ गते मङ्गलबार नेपाल राष्ट्रिय उद्यम व्यवसाय महासङ्घको महोत्तरी जिल्लाको प्रथम अधिवेशनको उद्घाटन गर्न बर्दिबास आउने कार्यक्रम तय भएको छ ।

“हामी उत्साहसाथ अधिवेशनको तयारीमा जुटेका छौं” महासङ्घका केन्द्रीय सदस्य एबम् बर्दिबासस्थित होटल नमोवुद्धका सञ्चालक हेमबहादुर लामाले भन्नुभयो, “अधिवेशन उद्घाटन गर्न मन्त्री पौडेल आउने कुराले हाम्रो हौसला बढेको छ ।” बर्दिबास–४ माइस्थानस्थित पञ्चधुरा पार्टी प्यालेसमा अधिवेशन आयोजन गर्ने कार्यक्रम रहेको लामाले जानकारी दिनुभयो । अर्थमन्त्री यहाँ आउनु भएपछि महोत्तरीका उद्यमी, व्यवसायीले आफ्ना समस्या भन्न पाउने छन् । यो महोत्तरी एबम् छिमेकका धनुषा र सर्लाहीका उद्यमीका लागि पनि अवसर हुने महासङ्घका अर्का केन्द्रीय सदस्य बर्दिबासकै बासिन्दा कुमार भण्डारीको भनाइ छ ।

“जिल्लाभरिकै उद्यमी, व्यवसायी समस्यासँग जुध्दै अघि बढ्दै छन् , त्यसमा पनि उदीयमान नगर बर्दिबासमा उद्योग प्रवद्र्धन गर्न चुनौति छन्” भण्डारीले भन्नुभयो , “हामी आफ्ना समस्या अर्थमन्त्री र जिल्ला अधिवेशनमा राख्नेछौं, अर्थमन्त्रीबाट सहजिकरण हुने हाम्रो विश्वास छ ।”

अधिवेशन आयोजन गर्ने कुराले जिल्लाका सबैजसो नगरका उद्यमी, व्यापारी यसको तयारीमा लागेका छन् । जिल्ला सदरमु काम जलेश्वरसहित सबैतिर महासङ्घको जिल्ला अधिवेशनको तयारीमा उद्यमी, व्यवसायी लागेका अर्का केन्द्रीय सदस्य रोशन दासले बताउनुभयो । “प्रथम जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न गर्न हामी योजनवद्ध काममा लागेका छौं” केन्द्रीय सदस्य दासले भन्नुभयो, “हामी उद्योगी, व्यवसायीको समस्या र यी समस्याका निदानबारे अर्थमन्त्रीसँग खुलाखुलस्त छलफल गर्न पाइने कुराले उत्साहित भएका छौं ।”

अधिवेशनको तयारीको क्रममा जिल्लामा उद्योग, व्यवसायको अवस्था, यहाँभित्रका सफलताका कथा र चुनौति केके छन् ? त्यसको फेहरिस्त अधिवेशनमा प्रस्तुत गरिने महासङ्घले जनाएको छ । “हामी प्रतिवेदनमै सबै अवस्थाबारे उल्लेख गर्छाैं, सबैपक्षबारे सामुहिक छलफल गर्छौं” महासङ्घका स्थायी समिति सदस्य तथा बर्दिबासका उदीयमान उद्यमी केदार बस्नेत भन्नुहुन्छ, “अधिवेशनमा अर्थमन्त्री पौडेल सहभागी हुनु हुने हुँदा जिल्लाका आम उद्यमी, व्यवसायी ठाउँमै आफ्ना समस्या पु¥याउन पाइने कुराले अधिवेशन तयारीमा जुट्नु भएको छ ।”

नेपाल राष्ट्रिय उद्यम व्यवसाय महासङ्घ नेकपा (एमाले) निकट सङ्गठन मानिन्छ । सर्वोच्च अदालतको आदेशले एमाले र माओवादी केन्द्र ब्युतिएपछि जिल्लामा एमाले पक्षका सङ्गठनमध्ये औपचारिक कार्यक्रम आयोजन गर्ने महासङ्घ पहिलो भएको छ ।