ओविसीको आन्दोलन जारी, पाचौं दिन बारा प्रशासन अगाडी धर्ना

द पब्लिक टुडे
ढल्केवर, चैत २२ गते । नागरिकतालगायत ९ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका पिछडावर्ग ओविसी महासभाले आन्दोलनको पाँचौं दिन जिल्ला प्रशासन कार्यायल बारा अगाडी धर्ना दिएका छन् ।

जन्मसिद्व नागरिकता प्राप्त गरेका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने, पिछडावर्ग ओविसी आयोग गठन गर्नुपर्ने लगायतका ९ बुँदे माग राख्दै ओविसी गत बिहिवारबाट आन्दोलनमा होमिएको हो ।

पूर्व निर्धारित कार्यक्रम अनुसार मंगलवार पिछडावर्ग ओविसी महासभाका राष्ट्रिय अध्यक्ष राम कुमार महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाराको अगाडि धर्ना दिएको पिछडावर्ग ओविसी महासभाका राष्ट्रिय सहमहासचिव नागेन्द्र सिंहले द पब्लिक टुडेलाई जानकारी दिए । धर्ना कार्यक्रममा ओविसी महासभाका केन्द्रीय उपाध्यक्ष बिणा कुशवाहा, मदन प्रसाद कुशवाहा, केन्द्रीय सदस्य श्रीवती भेडिहर, लालबाबु साह, बिनेश प्रसाद कुशवाहा, प्रदेश सचिव जयनरायण महतो, जिल्ला अध्यक्ष उमाशंकर महतोलगायत ओविसी महासभाका दर्जनौं कार्यकर्ताहरूको उपस्थिती रहेको उनले बताए ।

कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै भीडभाड नगरी आवश्यक स्वास्थ्य सतर्कता अपनाइ आनदोलनका कार्यक्रमहरू अगाडी बढाइ रहेको सहमहासचिव सिंहले बताए । यसअघि ओविसीले सिरहा, महोत्तरी, सर्लाही र राैतहटमा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका थिए ।

गएको फागुन २२ गते प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी पिछडावर्ग ओविसी महासभाले विभिन्न चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो ।