पत्रकार महासंघको चुनाव : महोत्तरीमा शतप्रतिशत मतदान !

द पब्लिक टुडे
बर्दिवास, चैत २५ गते ।
नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतदान महोत्तरीमा सकिएको छ । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको निर्वाचन समितिका अनुसार तोकिएको समय अगावै शतप्रतिशत मतदान भएको हो ।

मतदानका लागि विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म समय तोकिएपनि महोत्तरीमा त्यस अगावै शतप्रतिशत मतदान भएको निर्वाचन समिति महोत्तरीले जनाएको । नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा ४१ जना मतदाता रहेको छ । महोत्तरीको मतपरिणाम आजै अबेर साँझसम्म घोषणा हुने बताइएको छ ।

महोत्तरीमा महासंघको नयाँ नेतृत्वका लागि कमलेश मण्डल र महेशकुमार दास प्यानलसहित चुनावी मैदानमा छन् । उम्मेदवारहरुले श्रमजिवी पत्रकारको पेशागत हकहित, अधिकार र पैरवीलाई मुख्य मुद्दा बनाएर चुनावमा होमिएका थिए ।

महोत्तरीमा महासंघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा कमलेश मण्डल र महेशकुमार दासले प्रतिस्पर्धा गर्दैछन् ।

यसैगरी उपाध्यक्षमा हेम कुमारी बराल(सुनिता) र विक्रम राैनियार प्रतिष्पर्धामा छन् भने महिला उपाध्यक्षमा सुनिता कुमारी र दिपिका कुमारी साह प्रतिष्पर्धा गर्दैछन् । कोषाध्यक्षमा अजय कुमार सिंह र विवेकानन्द झा प्रतिष्पर्धा गर्दैछन् भने सचिवमा राजकरण महतो र रञ्जन भण्डारी भिड्दैछन् । सहसचिवमा रामनारायण महतो र राजिव राय भिड्दैछन् भने सहसचिव समावेशीमा संजित मण्डल र उपासना तिवारी चुनावी मैदानमा छन् ।

पत्रकार महासंघको इतिहासमा पहिलो पटक केन्द्रीय नेतृत्व चयनका लागि देशभरका पत्रकारहरुले प्रत्यक्ष मतदान गर्न पाएका हुन् । यसअघि जिल्ला, प्रदेश, प्रतिष्ठान, एसोसिएट लगायतबाट चुनिएर आएका सीमित पार्षदले मात्रै केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्न पाउने व्यवस्था थियो ।