भारत बन्यो विश्वमै कोरोनाबाट प्रभावित दोस्रो राष्ट्र

फाइलः तस्बिर

काठमाडौं, चैत ३० गते । दक्षिण एसियाली राष्ट्र भारत कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित विश्वकै दोस्रो राष्ट्र बनेको छ।

दैनिक लाखभन्दा बढी संक्रमित थपिरहेको भारत यतिबेला कोरोनाको सबैभन्दा ठूलो हटस्पट हो किनभने यहाँ दैनिक थपिने कोरोना संक्रमितको दर विश्वमै सबैभन्दा बढी हो।

कोरोनाको तथ्यांक राख्दै आएको वर्ल्डोमिटरका अनुसार भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ३५ लाख २७ हजारभन्दा बढी पुगेको छ। यहाँ १ लाख ७० हजारको मृत्यु भइसकेको छ। कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्र भने अमेरिका हो। भारतपछि ब्राजिलमा धेरै कोरोना संक्रमित छन्।

यसैबीच गएको २४ घण्टामा मात्र भारतमा एक लाख ६८ हजार कोरोना संक्रमित थपिएका छन् ।

भारतमा एकैदिनमा एक लाख ६८ हजार संक्रमित थपिँदा सोही अवधिमा ९०४ को मृत्यु भएको बीबीसीहिन्दीले जनाएको छ।

कोरोना भाइरसको प्रकोप फैलिएको एक वर्षभन्दा बढी भइसक्दा पनि कोरोनाको प्रभाव विश्वभरमा देखिरहेका हुन्।

विश्वभर खोप कार्यक्रम जारी छन्। खोप कार्यक्रम जारी भएता पनि भारतमा भने दैनिक एक लाखभन्दा बढी कोरोना संक्रमित थपिँदै गएका छन्।