नागरिकता माग्दै सिडिओ अगाडी ओबिसीको धर्ना, कार्यालय प्रवेशमा निषेध गर्ने चेतावनी

  • विजय कुमार सिंह

ढल्केवर, चैत ३१ गते । नागरिकतालगायत ९ बुँदे माग राख्दै पिछडावर्ग ओविसी महासभाले थालेको आनदोलन जारी रहेको छ । ओविसीले जन्मसिद्व नागरिकता प्राप्त गरेका सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने, पिछडावर्ग ओविसी आयोग गठन गर्नुपर्ने लगायतका ९ बुँदे माग राख्दै सुरु गरेको आनदोलन अन्तर्गत सोमवार धनुषामा प्रदर्शन गरेको हो ।

पुर्वनिर्धारित कार्यक्रम अनुसार सोमवार ओबिसीले धनुषा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका हुन् । धनुषामा पिछडावर्ग ओविसी महासभाका राष्ट्रिय अध्यक्ष राम कुमार महतोको नेतृत्वमा धर्ना कार्यक्रम सम्पन्न गरिएको पिछडावर्ग ओविसी महासभाका राष्ट्रिय सहमहासचिव नागेन्द्र सिंहले जानकारी दिए ।

धर्ना कार्यक्रममा महासभाका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष इन्दु सिंह, राष्ट्रिय उपाध्यक्ष विणा कुशवाहा, राष्ट्रिय महासचिव नथुनी कुशवाहा, सहकोषाध्यक्ष दिपलाल महतो, प्रदेश नं २ का अध्यक्ष परमेश्वर महतोलगायत दर्जनौं कार्यकर्ताहरूको उपस्थिती थियो ।

जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएपनि प्रमुख जिल्ला अधिकारीले कुनै प्रतिक्रिया नजनाएपछि उनीहरुले करिब दुई घण्टा जिल्ला प्रशासन कार्यालयको मुलगेट बन्द गर्दै सिडिओ र सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

उनीहरु चर्को नाराबाजी पश्चात जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक कुमार कर्णले उनीहरुलाई सम्बोधन गरेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी दीपक कुमार कर्णले ओबिसीको माग जायज भएको बताए । उनले रोक्का गरिएको नागरिकता फुकुवा गर्ने आफूहरुको अधिकार भित्र नपरेको उल्लेख गरे । नागरिकता फुकुवा गर्ने अधिकार संसदमा निहित रहेको बताए ।

यता धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै पिछडावर्ग ओविसी महासभाका राष्ट्रिय अध्यक्ष राम कुमार महतोले करिब ६२ लाख जनतालाई नागरिकता बिहिन बनाउने सरकारको षडयन्त्र रहेको बताए । उनले गृहमन्त्रीले जनताको मौलिक हक खास्ने काम गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा समेत मागे । आफूहरुको धर्नालाई व्यवास्ता गरेको भन्दै सिडिओप्रति आक्रोश पोखेका थिए । उनले नागरिकता दिन पहलकदमी भूमीका नखेले सिडिओलाई कार्यालय प्रवेशमा निषेध गर्ने चेतावनी समेत दिए ।

पुर्वनिर्धारित कार्यक्रम अनुसार आउँदो बैशाख ७ गते काठमाडौको माइतीघर मण्डेलामा विरोध प्रदर्शनको कार्यक्रम रहेको सहमहासचिव सिंहले बताए । कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै भीडभाड नगरी आवश्यक स्वास्थ्य सतर्कता अपनाइ आनदोलनका कार्यक्रमहरू अगाडी बढाइरहेको उनले बताए ।

गएको फागुन २२ गते प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी पिछडावर्ग ओविसी महासभाले विभिन्न चरणको आनदोलनको कार्यक्रम सार्वजानिक गरेको थियो । ओबिसीले अगामी बैशाख ११ गते मधेश बन्दको आह्वान समेत गरेको छ । त्यसको पूर्व सन्ध्यामा बैशाख १० गते मधेशका सम्पूर्ण जिल्लामा मशाल जुलुस निकाल्ने ओबिसीको कार्यक्रम छ ।