दलित परिवारलाई बाख्रा वितरण

अर्घाखाँची, चैत ३१ गते । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ भुजुङ्गेका पहिरो प्रभावित ३९ दलित  परिवारमा आय वृद्धि गर्न बाख्रा वितरण गरिएको छ । 

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत दलित समुदायको जीवनस्तरमा सुधार ल्याउन प्रतिघर तीन वटा बाख्रा वितरण गरिएको नगरपालिकाले जनाएको छ । एक समारोहबीच प्रदेश सांसद रामजीप्रसाद घिमिरे र नगर प्रमुख कमलप्रसाद भुसालले बाख्रा हस्तान्तरण गरेका हुन् । 
     
सो अवसरमा सांसद घिमिरेले कृषि र पशुपालनको माध्यमबाट स्वरोजगार सिर्जना गर्न मुख्यमन्त्री ग्रामीण विकास तथा स्वरोजगार कार्यक्रम सञ्चालन गरेको बताए । नगर प्रमुख भुसालले कृषि र पशुपालनको विकास विना देशको समृद्धि नहुने भन्दै गरिबी वितरण गरिएका बाख्राहरु राम्रोसँग पालनपोषण गरेर राम्रो आम्दानी लिन आग्रह गरे ।
 
यसैबीच सो पालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समति अर्घाखाँचीको आयोजनामा पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा भूमिहीन सुकुम्बासीलाई जग्गा प्रदान गर्ने तरिका र अव्यवस्थित वसोवासलाई व्यवस्थित बनाउने तथा आयोगले गर्ने कामका बारेमा आयोगका अध्यक्ष केवी भुसाल, सदस्यसचिव लक्ष्मी पाण्डे र विज्ञ सदस्य तुल्सीराम मिश्रले जानकारी गराएका थिए ।