ढल्केवर महोत्सव : गायिका नेवार र मोक्तानले दर्शक नचाए, कमेडियन दिनेशले हसाए

द पब्लिक टुडे
ढल्केवर, बैशाख २ गते ।
धनुषाको ढल्केवरमा सञ्चालित ‘प्रथम ढल्केवर मिथिला महोत्सव’ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकार प्रदर्शन जारी छ ।

नयाँ वर्ष २०७८ को पहिलो दिन बैशाख १ गते महोत्सवको चार दिन पुगेको छ । चौथो दिनको महोत्सवमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकार मिलन नेवार, रोज मोक्तान र हाँस्यकलाकार दिनेश काफ्लेको जोरदार प्रस्तुति रह्यो ।

मिलन नेवारको पछिल्लो गीत ‘फुल बुट्टे सारी सपक पारी’ निकै चर्चामा छ । उनले यो गीतसँगै आधा दर्जन जति आफ्ना चर्चित गीत प्रस्तुत गरेर दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरिन् । नेवार निकै लोकप्रिय गीतमध्येको ‘फुल बुट्टे सारी सपक पारी’ गीत गाइन् दर्शकले ‘वान्स मोर, वान्स मोर’ भन्दै पुनः गाउन आग्रह गरे । दर्शक माया र उत्साहलाई सम्मान गर्दै गायिका नेवारले पटक–पटक सो गीत गाएर दर्शकको मन जित्न सफल भइन् ।

यस्तै अर्का चर्चित गायक रोज मोक्तानले ‘कलकत्ते काँइयो केश मेरो बाङ्गो’ बोलको गीतसँगै झण्डै आधा दर्जन गीत प्रस्तुत गरेर दर्शकलाई खुब नचाए । हाँस्यकलाकार दिनेश काफ्लेको प्रस्तुति पनि जोडदार रह्यो । उनले कयौं कलाकार तथा नेताहरुको क्यारीकेचर गरेर दर्शकको मन बटुल्न सफल भए ।

त्यस अलावा स्थानीय कलाकार अजय परियार र पायल साहले दमदार नृत्य पस्केका थिए । महोत्सवमा भाग लिएका कलाकारहरुलाई खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्षा आनन्द श्रेष्ठले ‘मायाको चिनो’ प्रदान गरेका थिए ।