नवनिर्वाचित पदाधिकारीलाई मिथिला पत्रकार संजालको सम्मान

द पब्लिक टुडे
ढल्केवर, बैशाख १४ गते ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको छ ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाको २६ औं अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई मिथिला नगर पत्रकार संजाल ढल्केवरले भव्य रुपमा सम्मान गरेको हो ।

सोमवार संजालले ढल्केवर स्वास्थ्य चौकीको सभाहलमा एक समारोहकाबीच नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मानपत्र, गमछा र माला लगाएर सम्मान गरेको हो ।

मिथिला नगर पत्रकार संजालका अध्यक्ष शंकर बहादुर थापाको अध्यक्षता तथा मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम सम्पन्न भएको संजालका सदस्य विजय कुमार सिंहले जानकारी दिए ।

सम्मान कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाका नवनिर्वाचित अध्यक्ष मनिका झाले मिथिलामा नगर संजाल गठन भएकोमा धन्यवाद दिंदै संजाललाई नौलो अभ्यासको रुपमा औल्याए । उनले संजालसंग समन्वय गरेर पत्रकार महासंघ अघि बढ्न प्रतिबद्ध रहेको बताए ।

एक–दुईजना पत्रकारले भ्रामक समाचार सम्प्रेषण गर्दैमा सम्पूर्ण पत्रकारलाई सोही दृष्टिले हेर्नु नहुने तर्क दिँदै स्थानीय तहले गरेका राम्रा कामलाई पनि प्राथमिकताकासाथ स्थान दिने गरेको अध्यक्ष झाले बताइन् । उनले अगामी दिनमा स्थानीय तहसँग सहकार्य गरेर स्थानीय तहमा भएका विकास निर्माणका कार्यलाई समाचारको रुपमा समेटिने उनको भनाई थियो ।

यस्तै मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले अन्यायको विरुद्ध न्यायको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।

पत्रकारिता व्यापारमुलक क्षेत्र नभई सेवामुलक क्षेत्र भएको उनको भनाई थियो । पत्रकारलाई सम्मान गर्दै मेयर महतोले अगामी दिनमा समाजलाई सुसुचित गर्न पत्रकारको भूमीका थप शसक्त हुनेमा विश्वास व्यक्त गरे ।

मिथिला नगर पत्रकार संजालका सचिव विनोद कुमार महतोले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संजालका सल्लाहकार अरुण कुमार महतोले राखेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाका नवनिर्वाचित अध्यक्ष मनिका झासहित सम्पूर्ण पदाधिकारी, पिछडावर्ग ओबिसी महासभाका केन्द्रिय अध्यक्ष रामकुमार महतो, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्मा, मिथिला उद्योग बाणिज्य संघ ढल्केवरका अध्यक्ष तेजनारायण साह, विभिन्न राजनीतिक दलका प्रतिनीधि तथा सञ्चालका पदाधिकारीलगायतको उपस्थिती रहेको थियो ।