आईपीएल : पन्जाबसँग बैंगलोर ३४ रनले पराजित

 एजेन्सी : ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।

अहमदाबादमा शुक्रवार राति भएको खेलमा पन्जाबले बैंगलोरलाई ३४ रनले पराजित गरेको हो ।

पन्जाबले दिएको १ सय ८० रनको लक्ष्यसहित जावाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो । बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ३५ रन जोडे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

पन्जाबका लागि कप्तान लोकेश राहुलले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका राहुलले ५७ बलमा ७ चौका र ५ छक्कासहित ९१ रन बनाए । यससँगै पन्जाबले लिगमा तेस्रो जित निकालेको छ ।

पन्जाबले ७ खेलमा ६ अंक जोडेको छ । पन्जाब पाँचौ स्थानमा उक्लिएको छ ।

यस हारसँगै बैंगलोरले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । बैंगलोरले ७ खेलमा १० अंक जोडेको छ । यस सिजन दोस्रो हार व्यहोरेको बैंगलोर तेस्रो स्थानमा रहेको छ ।