रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेमा कारबाही

काठमाडौं, वैशाख २१ गते । औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेकाे पाइएमा कारबाही गर्ने भएको छ ।

विभागका महानिर्देशक वसन्त भट्टराईले सूचना जारी गर्दै रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारबाही गरिने जनाउनुभयो ।

उहाँले सङ्क्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डिसिभिर औषधिको कृत्रिम अभाव गरेर न्यूनतम मानवीय संवेदनासमेत ख्याल नगरि अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई कारबाही गरिने बताउनुभयो ।

विभागले अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण नगर्न/नगराउन तथा तोकेको खुद्रा मूल्यभन्दा बढीमा खरिद नगर्न सबैमा आग्रहसमेत गरेको छ । अहिले सङ्क्रमण बढिरहेका अवस्थामा रेम्डिसिभिरलाई बढी मूल्यमा बेच्ने गरेको पाइएको छ । रेम्डिसिभिरको एक मात्राका लागि करिब पाँच हजार रुपैयाँ पर्छ । रासस