चुरे दोहनमा विदेशी स्वार्थ रहेको प्रष्ट छ : बिजुक्छे

नारायणमान बिजुक्छे। फाइल तस्बिर।

भक्तपुर, जेठ २३ गते । नेपाल मजदुर किसान पर्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले चुरे संरक्षणका लागि सबै उत्तिकै सक्रिय हुनुपर्ने बताएका छन् ।

भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ङाँतापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तकको भर्चुअल रुपमा सार्वजनिक गर्दै उनले भने, ‘चुरे पहाड नेपालको महत्वपूर्ण प्राकृतिक स्रोत हो, यसको संरक्षण गर्नु आवश्यक छ तर चुरे दोहनमा वर्तमान सरकार मात्रै नभई अघिल्ला सरकारहरु पनि जिम्मेवार रहेका छन्, यसमा विदेशी स्वार्थ रहेको प्रष्ट छ ।’

उनले पाँचतले मन्दिर र अन्य साँस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरु मानव जातिको शिल्प, कला र विश्व शान्तिको निम्ति एक महत्वपूर्ण शिक्षालयको रुपमा रहेको बताए ।

अध्यक्ष बिजुक्छेले योग्यता र अनुभव विना मन्त्री बनाउने प्रचलनका कारण मन्त्रालयहरु लथालिंग रहेको बताउँदै सरकारमा गएका राजनीतिक पार्टीले सही काम गर्न नसक्दा देश आर्थिक र राजनीतिक रुपमा झन् पछाडि धकेलिएको आरोप लगाए ।

कुनै पनि नयाँ भौतिक निर्माण गर्दा त्यहाँ रहेका प्राकृतिक स्रोतबारे अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेले भक्तपुर नपाले यहाँका मुख्य–मुख्य स्मारकबारे अध्ययनलाई चालु राख्नुपर्ने र पाठ्यक्रममा पुरातत्व विषयलाई समेट्न आवश्यक पहल गर्नुपर्ने बताए ।

पाँचतले मन्दिरबारे प्रस्तुत प्रतिवेदन दस्तावेजको रुपमा रहेको बताउँदै उनले ख्वप इन्जिनियरिङ कलेजमा अध्ययनरत इन्जिनियर तथा प्राविधिकहरुलाई दक्ष बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले आजभन्दा ३२० वर्ष अगाडि बनेको पाँचतले मन्दिरको दोस्रो पटकको जीर्णोद्धार भक्तपुर नपाले जनताको सहभागितामा उपभोक्ता समितिमार्फत पारदर्शी ढंगले गरेको बताए । उनले दरबार क्षेत्रमा ९९ चोक उत्खनन् गर्नुपर्ने, भक्तपुरको पुरानो नपाको भवन, कला संग्रहालय जीर्णोद्धार गर्नुपर्नेलगायतका ठूला योजनामा नपाले पहल गर्ने विश्वास व्यक्त गरे ।

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा पुनःनिर्माण र जीर्णोद्धार अरुको सहयोगमा भर परेर नभई आफ्नै पौरखले सम्पन्न गर्नुपर्ने भावनासहित सम्पदा पुनःनिर्माण र जीर्णोद्धारका काम प्रचलित कानुनले दिएको अधिकार प्रयोग गरी जनताकै सहयोग र सहभागितामा मौलिक शैलीमै सम्पन्न गर्न निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।