फ्रान्सका राष्ट्रपति म्याक्रोनलाई सार्वजनिक स्थलमै चड्कन

एजेन्सी, जेठ २६ गते । फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोनलाई देशको दक्षिणपूर्वी क्षेत्रमा भ्रमण गरिरहेको बेला एक जनाले चड्कन हानेका छन् ।

बाटोमा उभिएका व्यक्तिसँग कुराकानी गरिरहेकै अवस्थामा एक व्यक्तिले राष्ट्रपति म्याक्रोनलाई झापड हानेका थिए । सीएनएनका अनुसार यो घटना लगत्तै राष्ट्रपति म्याक्रोनको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । फ्रान्सको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा ती व्यक्तिले राष्ट्रपतिलाई हिर्काउने प्रयत्न गरेको उल्लेख छ । घटनापछि म्याक्रोनले यसलाई एक असामान्य घटनाको प्रतिक्रिया दिनु भएको छ ।

उहाँले भन्नु भएको छ – ‘हामीले अति हिंस्रक मानिसहरूलाई सार्वजनिक बहसमाथि नियन्त्रण जमाउन दिनु हुँदैन । ती यसको लायक छैनन् ।’ उहाँले राजनीतिक वातावरण बिग्रिरहेको अस्वीकार गर्नुभएकाे छ ।फ्रान्सका एक मन्त्रीले राष्ट्रपतिमाथिको चड्कन हरेक फ्रान्सेली नागरिकमाथिको चड्कन भएको बताएका छन् ।