प्रहरीलाई निःशुल्क बर्गर नदिँदा रेस्टुरेन्टका सबै कर्मचारी हिरासतमा

फाइल तस्बिर

गौशाला, असार १ गते । पाकिस्तानको लाहौर शहरमा गत साता प्रहरीलाई निःशुल्क बर्गर नदिएको आरोपमा एक रेस्टुरेन्टका १९ जना कर्मचारीलाई हिरासत पुर्‍याइयो ।

गत शनिबार लाहोरस्थित जोनी एन्ड जाग्नु नामको रेस्टुरेन्टका सबै कर्मचारीलाई प्रहरीले रातभर हिरासतमा राखेको बीबीसीले जनाएको छ। यस रेस्टुरेन्टको पाकिस्तानमा थुप्रै शाखा छन् । सञ्चालकले विज्ञप्ती जारी गर्दै यस्तो घटना पहिलो पटक भएको जनाएको छ।

‘प्रहरीहरूले आफ्नो लागि निःशुल्क बर्गर मागेका थिए । जुन उनीहरूका लागि साधारण विषय हो । नदिँदा सुरुमा त धम्काए र गए । पछि फेरि फर्किए र दवाव दिन थाले । ११ जुनमा प्रहरी आएर केही कारण नबताइ व्यवस्थापकलाई पक्राउ गरे । लगत्तै सबै कर्मचारीलाई लिएर गए ।’

सबैलाई ७ घण्‍टा हिरासतमै राखिएको थियो । उक्त रेस्टुरेन्ट संचालकका अनुसार यसअघि पनि प्रहरीले धम्क्याएर निःशुल्क खाना खाएका थिए।

बीबीसी हिन्दीका अनुसार घटनामा संलग्न नौ जना प्रहरी कर्मचारी निलम्बित भएका छन् । पाकिस्तानी पंजाबका आइजी इनाम गनीले भनेका छन्, ‘कसैसँग पनि कानूनलाई आफ्नो हातमा लिने अनुमति छैन । अन्याय सहन सकिँदैन र घटनामा संलग्न सबैलाई सजाय दिइन्छ।’