रौतहट, चैत्र ७ गते । होली खेल्ने क्रममा रौतहटको गुजरा नगरपालिका –९ सिमरा भजानीपुर टोलमा झडप हुँदा पाँचजना घाइते भएका छन् । घाइते हुनेमा तीनजना प्रहरी र दुईजना स्थानीयबासिन्दा रहेको छ ।
बिहिबार साँझ झडप भएपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन ७ राउन्ड अश्रु ग्यास र ६ राउन्ड सर्ट गनको रबर सेल प्रहार गरेको थियो । स्थानीयले प्रहरीमाथि एक्कासी ढुंगामुढा गर्न थालेपछि अश्रु ग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटमा एसपी भुपेन्द्र खत्रीले बताए ।
होली पर्व मनाउन मड्खा (माटोको भाँडो) फोड्ने कार्यक्रममा झडप भएको प्रहरीले जनाएको छ । माथि झुण्ड्याइएको मड्खा भाँडो स्थानीय बनियाँ युवाहरुले नै फुटाउनुपर्नेमा स्थानीय अर्को टोलका चौधरी युवाहरुले फोरेको निहुमा घटना उग्ररुप लिएको थियो । बनियाँहरु थोडै संख्यामा रहेका कारण चौधरी युवाहरुले उनीहरुमाथि कुटपीट गरेपछि झडप भएको थियो ।
झडप हुना साथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको एक टोली घटनास्थल पुगेर संलग्न २ जना चौधरी युवालाई नियन्त्रणमा लिएपछि केहि बेर पश्चात चौधरी युवाहरु संगठित भएर सयौंको संख्यामा गएर प्रहरी चौकी सिमरापुरका प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमण गर्दा ३ जना प्रहरी घाइेत भए भने २ जना चौधरी युवा । आक्रमणकारीहरु मध्ये ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ ।