निर्मला हत्या प्रकरण : तत्कालीन एसपी विष्टको थुनछेक बहस सकियो

कञ्चनपुर, चैत्र ८ गते । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका १३ की बालिका निर्मला पन्तको हत्या प्रकरणमा बरर्खास्तमा परेका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टको जिल्ला अदालत कञ्चनपुरमा शुक्रबार थुनछेक बहस सकिएको छ।

मंगलबार अदालतमा निवेदनसहित आफैँ उपस्थित भएका विष्टसँग यातनासम्बन्धी मुद्दा र प्रमाण नष्ट गरेको मुद्दामा बयान लिने कार्य गरिएपछि बुधबारदेखि थुनछेक बहस शुरु गरिएको थियो।

बयान लिने कार्य सकिएपछि दुवै मुद्दाबारे बुधबार थुनछेक बहस नसकिएपछि शुक्रबार पुनः वादी र प्रतिवादी वकिलले कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आर्चायको एकल इजलासमा थुनछेक बहस गरेका थिए।

थुनछेक बहसको कार्य सकिए पनि समय अभावले आदेश आउन नसकेको अदालतका श्रेष्तेदार हरिकृष्ण अबस्थीले बताए। उनले भने थुनछेक बहस सकिएको छ आइतबार आदेश आउछ।’ उनका अनुसार बर्खास्त प्रहरी उपरीक्षक विष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाएको छ।

बरर्खास्त प्रहरी उपरीक्षक विष्टसहित आठ जनाविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र दिलीप सिंह विष्टका दाजु खडक विष्टले यातानाविरुद्धको कसुरमा मुद्दा दायर गरेका थिए।

Scroll to Top