दोस्रो बर्दिबास महोत्सव सुरु

द पब्लिक टुडे समाचारदाता-
बर्दिबास, चैत्र ८ गते ।
महोत्तरीको बर्दिवासमा दोस्रो बर्दिवास महोत्सव तामझामसाथ सुरु भएको छ । बर्दिवास उद्योग वाणिज्य संघको आयोजनामा शुक्रवारदेखि ‘हिमाल पहाड तराई कोही छैन पराई, आपसी सद्भावको पहिचान बर्दिवासलाई नमूना शहर बनाउने हाम्रो अभियान’ नारासहित सुरु भएको महोत्सव चैत्र १८ गतेसम्म चल्ने छ ।

महोत्सवको प्रदेश नम्बर २ का मूख्यमन्त्री लालबाबु राउतले पानसमा वत्ति बालेर उद्घाटन गरेका छन् । स्थानिय व्यापार, कृषि एवं पर्यटन प्रर्वद्धनका लागि आयोजना गरिएका महोत्सव मुख्यमन्त्री राउतले यस्तो आयोजनाले लोकसंस्कृतिको जगेना गर्नुको साथै व्यापार ब्यवसाय र स्थानिय उत्पादनको प्रर्वद्धन गरि प्रदेशकै आर्थिक विकाशमा टेवा पुग्ने धारणा व्यक्त गरे ।
मुख्यमन्त्री राउतले प्रदेशभित्र रहेको बन्द उद्योग धन्दालाई चाँडै नै सञ्चालनमा ल्याउने तयारी प्रदेश सरकारले गरिरहेको समेत बताए ।

उनले स्वदेशी विदेशी तथा स्थानीय लगानीकर्तालाई ढुक्क भएर उद्योग धन्दामा लगानी गर्न आग्रह गर्दै मुख्यमन्त्री राउतले चैत ४ गते प्रदेश सरकारले प्रदेश नं। २ मा लगानी गर्ने उद्योगीलाई २० वर्षसम्म कुनै कर नलाग्ने निर्णयको विद्येयक प्रदेश संसदबाट पास भइसकेको बताए ।
मुख्यमन्त्री राउतले प्रदेश नं। २ भित्र रहेको सबै ऐलानी र गुठीका जग्गाहरु प्रदेश सरकारको स्वमित्वमा रहने र उद्योगकका लागि लगानी गर्ने उद्योगीलाई प्रदेश सरकारले जग्गा उपलब्ध गराउने स्पष्ट पारे ।

सम्बोधनको क्रममा मुख्यमन्त्री राउतले देश संघीय संरचनामा गइसकेको हुनाले बर्दिबासमै नापी कार्यलयका कागजपत्र उपल्बध गराई बर्दिबासबासीलाई सहज रुपमा सेवा लिनसक्ने गरी प्रदेश सरकारले पहल गर्ने बताए ।

यस्तै, मुख्यमन्त्री राउतले प्रदेश २ मा माघदेखि जन्मिने छोरीका लागि रु १ लाख २५ हजारको शिक्षा बीमाको नीति शुरु गरिएको बताए । छोरी जन्मिनेबित्तिकै अब लाखपति भएर जन्मिने बताउँदै उनले भौतिक पूर्वाधारको विकासले मात्र समग्र विकास सम्भव नरहेकाले सामाजिक रुपान्तरणका लागि ‘बेटी पढाउ बेटी बचाउ’ अभियान आवश्यक रहेको बताए ।

प्रदेश नं २ मा महिला शिक्षाको स्तर सबैभन्दा कमजोर रहेकाले स्तर उकास्नका लागि छोरीले पढ्ने वातावरण राम्रो बनाउन साइकल वितरण अभियान समेत सुरु गरिसकेको जानकारी गराए ।

उद्घाटन समारोहमा महोत्वस एवं वर्दिवास उधोग बाणिज्य संघका अध्यक्ष प्रहलाद क्षेत्रीले सडक संजालको धनि वर्दिवासले पूर्व क्षेत्रको प्रवेशद्वारकोरुपमा समृद्धिको पाइला टेकेको धारणा राखे । उनले करोडबढी कारोबारको लक्ष्य लिएर महोत्सव आयोजना गरेको जानकारी दिए । ‘महोत्सवबाट प्राप्त आमदानी वर्दिवासस्थित रेडक्रसको ब्लड बैंकलाई सहयोग गर्ने निर्णय गरेका छौ’ अध्यक्ष क्षेत्रीले भने ।

आयोजक वर्दिवास उधोग वाणिज्य संघका सदस्य सुदीप कार्कीले महोत्सवमा लमजुङ, पाल्पा, कास्की, गुल्मीलगाएतका पश्चिमी जिल्लाका ब्याबसायीसमेत आकर्षित भएको बताए ।

स्थानिय मौलिक उत्पादनसाथ आएका सुदूर जिल्लाका व्यापारिका कारण महोत्सवमा विविधता थपिनुका साथै बजार विस्तार एवं अवसर श्रृजनामा योगदान पुग्ने अपेक्षा बढाएको छ ।महोत्सवलाई भब्य र उदाहरणीय बनाउन विविधता झल्कने एकपछि अर्को मनोरंजनात्मक रंगारंग सांस्कृतिक कार्यक्रमकोसमेत ब्यवस्था गरिएको छ । महोत्सवमा धार्मिक, सांस्कृतिक, पर्यटन र कृषिको दृष्टिकोणले महत्वपूर्ण स्टलहरु राखिएका छन् । महोत्सवमा १ सय ५० स्टलहरु रहेको छ ।