जनकपुरधाम, चैत्र ९ गते । देशभर चैत्र १० गते देखि हुन लागेको माध्यमिक शिक्षा परिक्षा(एसइई) परिक्षाको तयारी प्रदेश २ मा पूरा भएको छ । शिक्षा निर्देशनालय प्रदेश २ ले चैत्र १० बाट सुरु हुन लागेको एसइई परीक्षाको तयारी पुरा भएको जनाएको छ। प्रेदश २ बाट कूल ७२ हजार ४९ परक्षार्थी सहभागी हुदैछन्। सबै जिल्लामा केन्द्राध्यक्ष समेत तोकिसकेको निर्देशनालयले जनाएको छ ।
प्रदेश २ का ८ जिल्लामा कूल २ सय ६३ केन्द्राध्यक्ष तोकिएको छ। सहायक केन्द्राध्यक्ष भने ३ सय ४५ जना खट्नेछन्। यस्तै, ३ हजार ४ सय ३६ जना निरीक्षक खटाएको निर्देशनालयले जनाएको छ। ५ सय ८६ जना सहायक निरीक्षक खट्दैछन्। १ हजार २ सय ८१ जना सहयोगी समेत परीक्षामा परिचालन हुँदैछन्।
परीक्षा मर्यादित बनाउन निर्देशनालय कसेर लागेको छ। परीक्षा मर्यादित बनाउन निर्देशनालयले प्रदेश २ का आठै जिल्लामा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको बैठक राखेर सबै शिक्षक खटिने लगायतका विभिन्न निर्णय गरेको छ। निर्देशनालयले सुरक्षा प्रमुखमार्फत जिल्ला तहका सुरक्षा निकायहरुलाई पत्राचार गरिएको जनाएकाे छ।
प्रमुख सचिवको अध्यक्षतामा प्रदेश तहका सुरक्षा प्रमुख समेतको उपस्थितिमा प्रदेश परीक्षा समन्वय समितिबाट परीक्षा मर्यादित बनाउने विभिन्न निर्णय गरी जिल्लाहरुमा पत्राचार गरिएको निर्देशनालयका निर्देशक रामाकान्त शर्माले बताए। उनले परीक्षा मर्यादित र व्यवस्थित बनाउन चिट चोरी र हल्ला गर्न नपाइनेमा सचेत गराइएकाे छ। अमर्यादित कार्य गरेमा सुरक्षा निकायले ताेकिएकाे कानुनी कारबाही गर्ने पनि शर्माले स्पष्ट पारे।
निर्देशनालयका अनुसार जिल्ला र सबै विद्यालयमा परीक्षा व्यवस्थित हुन्छ भन्ने सन्देश समाज, अभिभावक, विद्यार्थी र विद्यालयमा पुर्याउने तथा विभिन्न सार्वजनिक समारोह, शैक्षिक कार्यक्रममा सुधार बहस र छलफलको विषय बनाइएको छ।
जिल्ला तहमा केन्द्राध्यक्षहरुको बैठक राखेर परीक्षा मर्यादित बनाउन अभिमुखीकरण र प्रतिवद्धता व्यक्त गरिएको निर्देशनालयले जनाएको छ।