काठमाडाैं, चैत्र ९ गते । इण्डियन प्रिमियर लिग आईपीएलको १२ औं संस्करण आज(शनिबार)देखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच खेल हुनेछ ।
भारतीय क्रिकेट टोलीका सबैभन्दा सफल कप्तान महेन्द्र सिंह धोनी र वर्तमान कप्तान विराट कोहलीले नेतृत्व गरेकाे दुई टिमबीचको खेल चेन्नईकाे एमए चिदाम्बरम रंगशालामा आज(शनिवनर) साँझ ८:१५ बजेदेखि सुरु हुनेछ ।
आईपीएल इतिहासमै सबैभन्दा सफल टिम चेन्नई साविक विजेता पनि हो । उसले अहिलेसम्म ३ पटक उपाधि जितेको छ भने ४ पटक उपविजेता बनेको छ । विराट कोहलीले नेतृत्व गरेको बेंगलोर भने आईपीएलको अभागी टोलीको रुपमा गनिन्छ । किनभने स्टार खेलाडीले भरिएर पनि उसले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
सीएसके र आरसीबी अहिलेसम्म आईपीएलमा २२ पटक आमने-सामने भएका छन् । जसमध्ये १४ खेलमा सीएसकेले जित हात पारेकाे छ भने ७ खेलमा आरसीबीले जित हात पारेकाे छ । एक खेल भने नतिजाविहीन भएकाे छ । चेन्नईका लागि सुरेश रैना, शेन वाट्सन तथा अम्बाती रायुडुले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएकाे छ भने बेंग्लाेरबाट कप्तान विराट काेहलीसहित एबी डि भिलियर्स, शिमरन हेटमेयर, शिवम दुबे तथा हेनरिक क्लासेनले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गर्न सकिन्छ ।
दुवै टिम स्टार खेलाडीले भरिपूर्ण भएकाले पनि आईपीएल २०१९ काे पहिलाे खेल नै राेमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ ।
यसपटक आईपीएलमा ८ टिमको सहभागिता छ । चेन्नई र बेंगलोरका साथै मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र किंग्स इलाभेन पन्जाब आईपीएलमा सहभागी टिम हुन् ।