सिराहा, चैत्र ९ गते । सिराहामा आगलागी हुदाँ तीनजनाको जलेर मृत्यु भएकाे छ । शनिबार सिरहाको छुट्टाछुट्टै ठाउँमा भएको आगलागीमा दुई बालिका र एक महिला गरी तीनजनाको मृत्यु भएको छ । शनिबार दिउँसो धनगढीमाई नगरपालिका-१४ अमलीटारमा दीपक धमलाको घरमा आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको हो ।
धमलाकी ६ वर्षीया छोरी दीक्षा र सोही गाउँको नित्यराज पोखरेलको ७ वर्षीया छोरी ऋतु पोखरेलको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले जानकारी दिनुभयो ।
आगलागीको कारण भने खुलेको छैन । स्थानीय र प्रहरीको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा आएको डिएसपी थापाले बताउनुभयो ।
यस्तै, कल्याणपुर नगरपालिका-७ भेडियो पूर्वारी टोलमा खाना पकाउने क्रममा आगलागी हुँदा ५० वर्षीया बनारसी देवी सदायको मृत्यु भएको छ ।
प्रहरीको अनुसार शुक्रबार राति बनारसीले परालले खाना पकाउँदै गर्दा साडीमा सल्केर आगलागी भएको थियो। घाइते अवस्थामा उनलाई कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पतालमा पुर्याइएको थियो। शनिबार बिहान ४ बजे उनको मृत्यु भएको हो। उनको घरसमेत जलेको छ।