द पब्लिक टुडे समाचारदाता-
गौशाला, चैत्र १० गते । इन्डियन प्रिमियर लिग आइपिएल सिजन १२ को पहिलो खेलमा महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्सले सहज जित निकालेको छ । चेन्नईले विराट कोहलीले नेतृत्व गरेको रोयल च्यालेन्जर्स बैंगलोरलाई सात विकेटले पराजित गरेको हो ।
टस जितेर बैंगलोरलाई बलिङको निम्तो दिएको चेन्नईले ७० रनमा बैंगलोरलाई अलआउट गरेको थियो । ७१ रनको लक्ष्य पाएको चेन्नईले ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । चेन्नईका लागि अम्बाती रायडूले २८, सुरेश रैनाले १९ र केदार जाधवले १३ रन जोडेका थिए ।
चेन्नईले १७.४ ओभरमा उक्त लक्ष्य पूरा गरेको थियो । आइपिएलमा शनविारको खेलमा चेन्नईका सुरेश रैनाले ५ हजार रन पूरा गरेका छन् । बलिङतर्फ बैंगलोरका लागि मोहम्मद सिराज, मोइन अली र युजभेन्द्र चहलले एक–एक विकेट लिएका थिए ।
पहिले ब्याटिङको निम्तो पाएको बैंगलोरका ब्याट्सम्यान चेन्नईका बलरसामू टिक्न सकेनन् । बैंगलोरका एक खेलाडीले मात्रै दोहोरो अंकमा रन बनाउन सकेका थिए । बैंगलोरका ओपनर पार्थिव पटेलले मात्रै २९ रन बनाउन सके । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
चेन्नईका हरभजन सिंह र इमरान ताहिरले तीन–तीन विकेट लिए भने रवीन्द्र जडेजाले दुई र ड्याने ब्राभोले एक विकेट हात पारेका थिए । आइपिएलको दोस्रो दिन आज(आईतवार)को पहिलो खेल कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच हुनेछ भने दोस्रो खेलमा मुम्बई इन्डियन्सविरुद्ध दिल्ली क्यापिटल्स भिडने छन् । एजेन्सी