अनुगमनमा गएका मन्त्री ५ मिनेट बाहिरै रोकिएपछि……..

 

जनकपुर, चैत १४– श्रम तथा रोजगार कार्यालय जनकपुरधाममा सेवाग्राहीले दुःख पाएको गुनासो बढ्दै गएपछि प्रदेश २ का कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बुधबार कार्यालय अनुगमन गरेका छन्।

छड्के गर्न कार्यालय गएका मन्त्री करिब पाँच मिनेट कार्यालयको मुख्य गेटमा ताला लागेकाले बाहिरै उभिनु परेको थियो। त्यतिबेलासम्म उनलाई २० बढी सेवाग्राहीले फारम देखाउँदै कार्यालयमा सहनु परेको सास्ती सुनाएका थिए।

मन्त्री यादव करिब ४५ मिनेट कार्यालयको अनुगमनमा रहँदा सेवाग्राहीले हरेक काममा सास्ती सहनु परेको गुनासो सुनाएका थए ।

अनुगमनका क्रममा गुनासो सुन्दै मन्त्री यादवले यदि कसैले काम गराउन घुस मागे सिधै आफूसँग भेटेर वा मोबाइलमा जानकारी गराउन आग्रह गरे। उनले कुनै पनि घुसखोर र भ्रष्टाचारीलाई नछाडिने बताए।

सेवाग्राहीलाई मन्त्री यादवले चाँडै सबै प्रक्रिया ठिक हुने आश्वासन दिएका छन्। सेवाग्राहीले बिचौलियालाई एक–दुई हजार दिँदा एक दिनमै काम हुने तर, घुस नदिनेलाई हप्तौ दिनसम्म दौडधुप गर्ने बाध्यता रहेको मन्त्री समक्ष गुनासो गरेका थिए।

साथै उनीहरूले काठमाडौं जाँदा एकदिनमै पुनः श्रम स्वीकृति हुने तर, जिल्लामा हप्तौ दिनसम्म कर्नुपर्ने समस्या रहेको गुनासो गरेका थिए।

मन्त्री यादवले कार्यालयका निमित्त प्रमुख मनोज यादवसँग भेटेर काममा ढिलाइबारे बुझेका थिए। प्रमुख यादवले कर्मचारी अभाव, प्राविधिक कठिनाइले समयमै काम गर्न नसकिएको जानकारी गराए। मन्त्री यादवले भने, ‘कार्यालयको सेवाप्रति जनताबाट निकै गुनासो आयो, समयमा काम हुँदैन्, काम भन्दा पनि जनताले सास्ती पाइरहेका छन्।

कर्मचारीको पनि अभाव छ।’ उनले सबै समस्याको समाधानका लागि प्रदेश सरकारले पहल गर्ने बताए । मन्त्री यादवले कार्यालय प्रमुखलाई सेवाग्राहीको लागि बस्ने, खानेपानी र शौचालयको उचित बन्दोबस्त मिलाउन निमित्त प्रमुख यादवलाइ समेत निर्देशन दिए ।

Scroll to Top