द पब्लिक टुडे समाचारदाता-
जनकपुरधाम, चैत्र १५ गते । राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रदेश २ मा शुक्रबार हुने सामाजिक विषयको परीक्षा स्थगित गरेपछि विद्यार्थीहरु आनदोलित भएका छन् । परीक्षा स्थगित भएको आक्रोशमा विद्यार्थीहरु सडकमा उत्रिएका हुन् ।
एसइई परीक्षार्थीको प्रदर्शनले प्रदेश २ को राजधानी जनकपुरधाम लगायत विभिन्न सहर तनावग्रस्त बनेको छ । अनिवार्य सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि परीक्षा रद्द गरिएको हो।
नियोजित रुपमा प्रश्नपत्र आउट गरेर परीक्षा स्थगित एवं रद्द गरी परीक्षार्थीलाई दुःख दिएको भन्दै आक्रोसित परीक्षार्थीले पीडारीचोकमा प्रदर्शन गर्नुको साथै केहि सवारीसाधनमा तोडफोड समेत गरेका छन् । उनीहरुले पीडारीचोकमा टायर बालेर प्रदर्शन गर्न थालेपछि अहिले एकघण्टादेखि सडक अवरुद्ध भएको छ । अहिले पीडारीचोकको अवस्था तनावग्रस्त रहेको छ । विद्यार्थीको भविष्यसंग खेलबाड गरेको भन्दै जनकपुरको भानुचोकमा आज विहान परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले भानुचाकेमा समेत सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।
प्रदेश २ को अस्थायी राजधानी रहेको जनकपुरधाममा प्रदेश सरकारको कार्यालय अगाडी नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् । आक्रोशित विद्यार्थीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा ढुंगा प्रहार गरी तोडफोड गरेका छन् । आक्राेशित विद्यार्थीको ढुंगाले केही सवारीमासमेत क्षति पुगेको छ । आक्राेशित विद्यार्थीहरूले शिक्षामन्त्रीको राजीनामा समेत माग गरेका छन् ।
यस्तै विद्यार्थीले प्रदर्शनको क्रममा वीरगञ्जमा रहेको प्रहरी बिट तथा ट्राफिक लाइट तथा डिभाइडरमा आगजनी गरेका छन् । आक्रोशित विद्यार्थीले तोडफोड तथा आगजनी गरेपछि प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको छ । दमकलद्वारा पानीको फोहोरा प्रहार गरेपछि थप आक्रोशित भएका विद्यार्थीले दमकल पनि तोडफोड गरेका छन् । परीक्षा रद्द भएको सूचनालगतै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् ।
यस्तै, परीक्षा स्थगित भएको विरोधमा रौतहटको चन्द्रनिगाहापुरमा बजारमा विद्यार्थीले प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका विद्यार्थीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी नाराबाजी गरिरहेका छन् ।