घाइतेहरुलाई रगत अभाव हुन नदिन ढल्केवरमा १ सय १३ जनाले गरे रक्तदान

 

विजय कुमार सिंह-
ढल्केवर, चैत्र १८ गते ।
हावाहुरी प्रभावितका लागि ढल्केवरमा १ सय १३ जनाले रक्तदान गरेका छन् । भीषण हावाहुरीबाट बारा र पर्सामा भएका संयौ घाइतेहरुलाई रगत अभाव हुन नदिन धनुषाको ढल्केवरमा १ सय १३ जनाले गरे रक्तदान गरेका हुन् ।

आईतवार साँझ असिना पानीसंगै आएको भीषण हावाहुरीबाट भएका घाइतेहरुलाई रगतको अभाव हुन नदिन सोमवार मिथिला नगरपालिकाको ढल्केवरचौकमा मिथिला व्याडमिन्टन क्लव र ढल्केवर दारी ग्याङ्गले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न भएको मिथिला व्याडमिन्टन क्लवका अध्यक्ष संतोष साहले बताए । रक्तदान कार्यक्रममा महिला र पुरुष गरी १ सय १३ जनाले रक्तदान गरेको अध्यक्ष साहले बताए ।

आईतवार साँझ असिना पानीसंगै आएको भीषण हावाहुरीले अहिलेसम्म बारा र पर्सामा ३१ जनाको ज्यान गइसकेको छ भने ४ सयभन्दा बढी घाइते भएका छन् ।

Scroll to Top