विजय कुमार सिंह-
ढल्केवर, चैत्र १८ गते । धनुषाको मिथिला नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि ६७ करोड ४९ लाख बढि संशोधित बजेट पारित गरेको छ । सोमवार नगरपालिकाका मेयर हरिनारायण महतोको अध्यक्षतामा सम्पन्न नगरपालिकाको विशेष नगर सभाले आर्थिक वर्ष २०७५/७६ का लागि ६७ करोड ४९ लाख ८४ हजार ४५ रुपैया ६९ पैसाको संशोधित आय व्यय बजेट पारित गरेको हो ।
ढल्केबर स्वास्थ्य चौकीको सभाहलमा भएको नगरपालिकाको विशेष नगरसभामा आर्थिक वर्ष २०७५/७६ का लागि ६७ करोड ४९ लाख ८४ हजार ४५ रुपैया ६९ पैसाको संशोधित आय व्यय हुने बजेट पारित भएको मिथिला नगरपालिकाकी उपमेयर तारा कुमारी बस्नेतले जानकारी दिइन् । यस्तै, व्यय तर्फ गत सभाबाट स्वीकृत भएका योजना र कार्यक्रमहरुमा सवै नगर सभाका सदस्यहरुको सल्लाह सुझाव अनुसार कार्यपालिकामा छलफल गरी प्रस्ताव गरेका थप योजना तथा कार्यक्रमहरु स्वीकृत भए बमोजिम विनियोजन गरिने उपमेयर बस्नेतले बताइन् ।
विशेष नगर सभामा प्रथम नगरसभाबाट आ.व. २०७४/०७५ को लागि प्रस्तुत गरेको ५१ करोड १ लाख बजेटको पनि समिक्षा गरेको छ । समिक्षामा नगरपालिकाकी उपमेयर बस्नेतले भनिन् “ मिथिला नगरपालिकाको ऐतिहासिक प्रथम नगर सभामा आ.व. २०७४/०७५ को लागि हामीले ५१ करोड १ लाख बजेट प्रस्तुत गरेका थियौं । सो बजेट कार्यन्वयन गर्दा आम्दानी रु. ४९ करोड ३८ लाख १८ हजार २११।७७ र खर्च रु. ४० करोड ०८ लाख २५ हजार ३१२।३८ भइ नगद मौज्दात धरौटी र सशर्त तर्फको फिर्ता गर्नु पर्ने अनुदान समेत गरी रु ९ करोड २९ लाख ९२ हजार ८ सय ९९ रुपैया ३९ पैसा वाँकी रहयो ।”
“उल्लेखित खर्चबाट हामीले महत्वपूर्ण भौतिक पूर्वाधार संरचनाका निर्माण, तोकिएका सशर्त बजेटका कार्यक्रम, सामाजिक सुरक्षा भत्ता वितरण एवं नगर विकास प्रवद्र्धनका कार्य सम्पन्न गरेका छौ भने गत असार १० गते शुरु भई २४ गते सम्पन्न दोस्रो नगर सभामा चालु आर्थिक बर्षको लागि कुल बजेट रु. ५१ करोड ६३ लाख ५१ हजार ३०० आय अनुमान हुने र सोही अनुसार खर्च हुने प्रक्षेपन गरिएको थियौं भने तेस्रो नगर सभा (हिउँदे अधिवेशन) ले यसमा राष्ट्रपति चुरे तराई मद्येश संरक्षण विकास समितिबाट प्राप्त ५ करोड २६ लाख ७० हजार र सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नेपालमा पर्यटनका लागि पहिचान भएका १०० नयाँ गन्तव्यमा परेको धनेश्वर महादेव पर्यटन विकास क्षेत्रको मन्दिर पुनःनिर्माण तथा जिर्णोद्वारको लागि प्राप्त भएको रु. २५ लाख समेत समावेश गरी ५७ करोड १५ लाख २१ हजारको बजेट प्रस्तुत भएको थियो, उपमेयरले थपिन् ।”
यसै वीचमा नेपाल सरकार तथा अन्य निकायबाट प्राप्त र गत आर्थिक वर्षको यथार्थ मौज्दात समेतलाई समेटी यथार्थ बजेट पेश गरी यो विशेष नगर सभाको बैठकले आर्थिक वर्ष २०७५÷७६ का लागि ६७ करोड ४९ लाख ८४ हजार ४५ रुपैया ६९ पैसाको संशोधित बजेट पारित भएको उपमेयर बस्नेतले बताइन् । पारित भएका बजेटलाई नगरपालिका, वडा कार्यालय तथा विषयगत कार्यालयबाट प्रभावकारी रुपमा कार्यान्वयन हुने व्यवस्था मिलाएकी छु, उपमेयरले भनिन् “बजेटको सफल कार्यान्वयनमा सवैको सक्रिय निरन्तर सहयोगको अपेक्षा गरेकी छु ।”
यता, विशेष नगरसभामा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम कुमार कार्की, सबै वडाका वडाध्यक्ष, वडासदस्य, नगरपालिकाका कर्मचारीलगायतको उपस्थिती रहेको थियो ।