सर्वोच्चमा न्यायाधीश नियुक्तिको लागि बैठक जारी

 

काठमाडौं, चैत १९ – सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिको सिफारिसका लागि न्याय परिषद्को बैठक बसिरहेको छ।

परिषद्का‍ अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको अध्यक्षमा सोमबार पहिलो बैठक बसेको थियो। सर्वोच्च अदालतमा नियुक्त हुने पाँच न्यायाधीशको टुङ्गो लागेलगत्तै उच्च अदालत र जिल्ला न्यायाधीशको छलफल सुरु हुने समितिका एक सदस्यले बताए।

रिक्त पदमा योग्यता पुगेका उच्च अदालतका मुख्य न्यायाधीश र कानुन व्यवसायीबाट कुन संख्यामा ल्याउने विषय किनारा लागेपछि नाममा छलफल हुने ती सदस्यले बताए।

परिषदमा प्रधानन्यायाधीश राणा अध्यक्ष रहेका छन्। वरिष्ठ सदस्यमा दीपककुमार कार्की र अन्य सदस्यहरूमा कानुनमन्त्री भानुभक्त ढकाल, रामप्रसाद सिटौला र पदम वैदिक रहेका छन्। सिटौला कांग्रेस र वैदिक तत्कालीन माओवादी कोटाबाट परिषद सदस्य भएका थिए।

परिषद स्रोतका अनुसार ३ जना कानुन व्यवसायीबाट र दुई जना मुख्य न्यायाधीशबाट न्यायाधीश सर्वोच्च भित्राउने विषयमा छलफल भइरहेको छ। नेकपाबाट दुई र नेपाली काँग्रेसको कोटामा एक जना सिफारिसमा पर्ने सम्भावना रहेको छ।

नेकपाबाट परिषदका सदस्य वैदिकसमेतको नाम चर्चामा रहेको छ। उनीपछि हरि फुयाँल, विजयकान्त मैनाली , दिनमणी पोखरेलको नाम चर्चामा रहेको छ। कांग्रेसका तर्फबाट डेमोक्राटिक लयर्स एशोसियनका पूर्वअध्यक्ष मध्येबाट एक जनाको नाम सिफारिस गर्ने तयारी रहेको छ।

उच्च अदालतको मुख्य न्यायाधीशमध्येबाट प्रकाश ढुङ्गाना, शुष्मालता माथेमा र कुमार चुडालमध्येबाट छानिने सम्भावना छ।

Scroll to Top