हावाहुरी प्रभावित चमार समुदायका पीडा : दिनरात काट्नै गाह्रो

जनकपुरधाम, चैत्र २० गते : आइतबार बाराको फेटा र सुवर्ण गाउँपालिकाका स्थानीय गरिब दिन दुःखीको सपना टुक्रियो। तन, मन र धन सबै टुक्रियो बास बस्ने घर भत्कियो। त्यसपछि त विचल्ली भयो नाबालकदेखि वृद्धवृद्धासम्मको । जेनतेन दुई रातको घाम र शीत र सामान्य बर्खा खेपेका स्थानीय सरकारको राहत पर्खिएर बसेका छन्। ‘राहत आउँछ रे! तर अहिलेसम्म आएको छैन। आशैआशमा दुई रात काटियो अझ कति रात यसरी नै काट्नु पर्ने हो थाहा छैन।

जोडसँग हावाहुरी चल्दो चारवटा किला गाडेर टाँगेको प्लाष्टिक अनि केही छोपछाप पार्ने रुखका हाँगा कुन वेला उडाएर लग्ने हो टुंगाे हुँदैन’,गाउँपालिका ४ चमार बस्तीका किस्मती देवी राम भन्छिन्। ‘हमरा लोकनिके पुछेवला कौनै नै खे, हम सब घरबारविहीन होगइल बा! का करी बेटा सेहो भुखे दुई दिन से बानी, दोसर गाउँवामे बहुत लोकके रहे खातिर समानसभ भेटल आ हमरा सभके गाममे एखन धरि कौनो ना आइल’, उनले भनिन्, ‘सभ आवतानी आ ओम्हरे से घुमके चल जाईत बानी हम छोट बरबरना जातके कोई देखे बाला नई खे !’

हामीलाई सोध्ने कोही छैन, हामीहरू घरबारबिहीन भयौँ तर हाम्रो गाउँमा न त कुनै नेता आए न त कुनै दाता नै, सबै जना आउँछन तर उतैबाट फर्किन्छन, हामी सानो जातलाई कसले पो हेर्छ र? सोही स्थानका तेतरी देवी रामले समेत आफ्नो पीडा सुनाउँदै भनिन्, ‘राहत वितरणका कुराहरू भयो। केही स्थानहरूमा पहुँच हुनेहरूले चिउरा दालमोट चाउचाउसम्म बाडियो, तर यहाँ हामीकहाँ कोई आएनन्। कसरी कहाँबाट पुग्नु हामी यहाँ सब दलित जातिका छौँ। ‘कसको आँखा पुग्दो रहेछ र हामी जस्ता मानिसकहाँ?’ यस्तै इँटालाई माटोले जोडेर बनाएको देवाल खस्दा हात खुट्टासँगै ढाड भाँच्चिएर छटपटाइरहँदा पनि स्वास्थ्य सेवा पाउन नसकेर सुतिरहेका नन्दलाल रामले भने,’ केही जान्ने बुझ्नेहरू बोल्न सक्नेहरूले अलि अलि पाए क्यारे !

तर बोल्न नसक्नेहरूले हामी जस्ता गरिब, विपन्न वर्गले त न माग्न सक्छन्, न त कसैल ल्याएर दिन्छन्, नै हामी त अर्कालाई टुलुटुलु हेर्‍याे। आवाजविहीन भएर बसिरहेका छौँ।’ आइतबार साँझको भीषण हावाहुरीमा घर भत्किएर खाद्यान्न र कपडा नभएका, परिवारका सदस्य गुमाएका, जीवित भएकाहरू पनि अगंभग भएका परिवारको हालत कस्तो भएको होला? सोचेरै जिउ सिरिङ हुने हामी मरेर जानेले बरु जिते बाच्नेहरू मरेर पनि बाचिरहेको जस्तो आफूहरूको हविगत भएको सुनाउँछन्, अर्का पीडित रामचन्द्र राम। उनले आफूहरूलाई कम्तीमा अहिले बस्न र लाउन खान भए पुग्ने भए पनि जेनतेन दिन कट्थ्यो। तर त्यो पनि हुन नसकेकोमा दुःख पोख्छन्।

उनीहरूको लगन र सफलताले देखाउँछ, साथ, सहयोग र सामूहिक प्रयास तथा समाजका लागि केही गर्नुपर्छ भन्ने भावना भएपछि जस्तोसुकै काम पनि फत्ते गर्न सकिँदो रहेछ। तर, सरकार कहाँ छ र के गर्दै छ? कसैलाई मेलोमेसो छैन अर्का पीडित तेतरी देवी राम भन्छिन्, ‘हमरा सभके परिवारमे दुटा कोठली रहल, आव एकोटा नई खे कैसे रात काट्म, अपने त केहुना रह जाईव, आ बेटाबेटीके कैसै राखम्। (मेरो परिवारमा दुईवटा कोठा थियो। तर अव एउटा पनि छैन। कसरी रात काट्नु, आफू त जसोतसो बसुँला तर छोराछोरीलाई कसरी राखुँ।’ साभार : थाहाखबर

Scroll to Top