जनकपुरधाम, चैत २० गते ।
मध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र प्रदेश २ बाट प्रहरीले आउट गरेको खुलासा भएको छ । गत चैत १४ र १५ मा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको घटनामा प्रहरीको संलग्नता देखिएको छ । घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ।
यसलाई ब्युरो र प्रहरी प्रधान कार्यालय दुवैले गोप्य राखेको समाचार कान्तिपुर दैनिकमा छ । प्रश्नपत्र बाहिरिएलगत्तै राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश २ सरकारले गठन गरेको समितिले छुट्टाछुट्टै छानबिन गरेको थिए। दुवै समितिले अनुसन्धान जारी रहेको बताइरहेका बेला सिआइबीले दुई प्रहरी जवानलाई नियन्त्रणमा लिइको हो।
एक उच्च प्रहरी अधिकारीका अनुसार सोमबार बिहान काठमाडौं ल्याइएका दुवैलाई हतकडी लगाइएको छ । उनीहरू दुवैलाई दिनभर सीआईबी कार्यालयमा राखेर सोमबार साँझ प्रहरी प्रधान कार्यालयअन्तर्गतको एक नम्बर गणमा पुर्याइएको थियो । नियन्त्रणमा लिइएकामध्ये ब्रह्मदेवको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा दरबन्दी रही इलाका प्रहरी कार्यालय कल्याणपुरमा काजमा खटिएको खुलेको छ ।
सीआईबीले नियन्त्रणमा लिएका दुई प्रहरीमध्ये एक परीक्षार्थी पनि हुन् भने अर्का प्रश्नपत्रको तस्बिर खिच्न संलग्न थिए । नजिकका साथीसमेत रहेका उनीहरूबाटै प्रश्नपत्र बाहिरिएको पर्याप्त आधार भेटिएको एक प्रहरी अधिकारीले बताए । ती प्रहरी अधिकारीले केही तथ्यगत र उनीहरूबाट बाहिरिएको प्रश्नपत्र अन्य धेरै परीक्षार्थीमा पुर्याउने काममा क–कसको संलग्नता थियो भन्ने पुष्टि गर्न थप अनुसन्धान भइरहेको बताए ।
उनीहरू दुवै कार्यरत इलाका प्रहरी कार्यालय कल्याणपुरमा जनता मण्डल मावि बनिनिया र रादु मावि कल्याणपुरको प्रश्नपत्र राखिएको थियो । एसईई परीक्षार्थी प्रहरी जवान कुन केन्द्रमा थिए भन्ने खुल्न सकेन ।
प्रश्नपत्रको सजिलै पहुँचमा रहेका उनीहरूमध्ये एकले सिल खोलेर प्रश्नपत्रको फोटो खिचेको अनुसन्धानले देखाएको छ । उक्त फोटो उनले परीक्षार्थी प्रहरी साथीलाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरबाट पठाए । नियन्त्रणमा रहेका प्रहरी जवानले प्रश्नपत्रको फोटो खिचेर साथीलाई दिएको स्वीकारी सकेको स्रोतले बतायो ।
बाहिरिएको प्रश्नपत्रको तस्बिर नजिकै ब्लेडसमेत देखिन्छ । अनुसन्धान अधिकारीहरूले तस्बिरका आधारमा सिलबन्दी ब्लेडले काटेर प्रश्नपत्र निकालिएको आंशका गरेका छन् । यसरी बाहिरिएको प्रश्नपत्रको फोटो सामाजिक सञ्जाल फेसबुक, भाइबर र हवाटस एपमार्फत धेरै जना विद्यार्थी, उनीहरूको अभिभावक र आफन्तको मोबाइलमा पुगेको थियो ।
स्रोतका अनुसार विज्ञान र सामाजिक दुवै प्रश्नपत्र बाहिरिएको दिन परीक्षाअगावै विद्यार्थी विद्यालय छेउछाउ सार्वजनिक स्थानमा झुन्डझुन्ड भएर प्रश्नपत्र हेरिरहेका थिए । राष्ट्रिय परीक्षा बोर्डको छानबिन समितिका एक सदस्यका अनुसार प्रश्नपत्र एकले अर्कालाई पठाउने काम एकैछिनमा हँॅदा प्रदेश २ का अन्य जिल्लाकाले समेत पाएका थिए ।
घटनाबारे अनुसन्धान गरिरहेको सीआईबीको टोली २ नम्बर प्रदेशमै छ भने राष्ट्रिय परीक्षा बोर्डको छानबिन समिति विभिन्न जिल्ला हुँदै मंगलबार धनुषा पुगेको छ । प्रश्नपत्र बाहिरिएको घटनाबारे जिल्ला प्रहरी कार्यालय (जिप्रका) सप्तरीले पनि छानबिन थालेको थियो । जिप्रका सप्तरीका एसपी राजेन्द्र विष्टले प्रश्नपत्र बाहिरिएको प्रकरणमा आफूहरूले ६ जनालाई पक्राउ गरेर सार्वजनिक अपराधमा मुद्दा चलाउने प्रक्रिया सुरु गरिसकेको बताए । उनले भने, ‘एसईईको प्रश्नपत्र बाहिरिएको विषयमा यही नै हो हामीले गरेको अनुसन्धान । अरू कुरा मलाई
थाह भएन ।’
जिप्रका सप्तरीका डीएसपी भावेश रिमालले भने पक्राउ परेका ६ जनाको मोबाइलमा एसईईको प्रश्नपत्र भेटिएको, उनीहरूले प्रश्नपत्र अरूलाई पठाएको देखिएको र त्यसबारे अरू अनुसन्धान सीआईबीले गरिरहेको भन्दै थप बोल्न नमिल्ने बताए । ‘पक्राउ परेकाहरूको मोबाइल सीआईबीले अनुसन्धानका निम्ति भन्दै लगेको छ,’ उनले भने । प्रहरी स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याबमा ल्याइएका ती मोबाइलमा कहाँबाट प्रश्नपत्र आयो र कतिलाई फरवार्ड गरियो भन्नेबारे अनुसन्धान भइरहेको स्रोतले बतायो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठले एसईईको प्रश्नपत्र कहाँबाट बाहिरियो भन्नेबारे सोधपुछ गरिरहेको बताए । उनले सीआईबीको टोलीलाई पनि सघाइरहेको बताए । उनी मातहतको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई जवानलाई नियन्त्रणमा लिइएको बारे उनले अनभिज्ञता प्रकट गरे ।
यसबारे बुझ्न बारम्बार सम्पर्क प्रयास गर्दा इलाका प्रहरी कार्यालय कल्याणपुरका सई तुलसीप्रसाद पोख्रेलले मोबाइल फोन उठाएनन् र अन्त्यमा मोबाइल नै अफ गरे । घटनाबारे बुझ्न कार्यालयको नम्बरमा सम्पर्क गर्दा हवल्दार धर्मेश बैठाले फोन उठाए तर उनले आफू नयाँ भएकाले केही थाहा नभएको जवाफ दिए ।
निमित्त प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले यसबारे सीआईबीसितै बुझ्न आग्रह गरे । सीआईबी प्रमुख डीआईजी निरज शाहीले प्रश्नपत्र बाहिरिएको विषयमा अनुसन्धान जारी रहेको उल्लेख गर्दै तथ्यहरू संकलन भइरहेको र शंकास्पद व्यक्तिमाथि निगरानी भइरहेको बताए । डीआईजी शाहीले अनुसन्धानका क्रममा कसैलाई नियन्त्रणमा नलिएको दाबी गरे ।
इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रश्नपत्र पुग्ने दुवै परीक्षा केन्द्रका केन्द्राध्यक्षले कान्तिपुरसँगको कुराकानीमा प्रश्नपत्र चुहावट नभएको दाबी गरे । रादु माविका केन्द्राध्यक्ष लालदेव शाहले उक्त दिनको प्रश्नपत्रको सिलबन्दी नतोडिएको दाबी गरे भने जनता मण्डल माविका केन्द्राध्यक्ष धेउसीरायनले प्रहरीकै रोहवरमाप्रश्नपत्र खोलिएकाले शंका नगर्न आग्रह गरे ।
प्रश्नपत्र चुहावटको विषयमा बुझ्न जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेलाई पनि सम्पर्क गरिएको थियो । उनले प्रश्नपत्र चुहावटबारे भइरहेको अनुसन्धानको विषय आफूलाई जानकारी नभएको बताए । दोस्रो दिन पनि प्रश्नपत्र बाहिरिएलगत्तै १५ गते दिउँसो केन्द्रीय परीक्षा समन्वय समितिले ७७ जिल्लाका प्रजिअमार्फत प्रश्नपत्र रुजु गर्न निर्देशन दिएको थियो । सबै जिल्लाबाट प्रश्नपत्र सही हालतमा रहेको सूचना आएको थियो ।