अनियमितता भएको भनिएका स्थानमा पुनः निर्वाचन

बैंकक, चैत २२ – मतदानमा अनियमितता भएको भनिएका विभिन्न ६ स्थानमा पुनः निर्वाचन गर्ने थाइल्याण्डको निर्वाचन आयोगले जानकारी गराएको छ।

निर्वाचन आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा यसअघि सम्पन्न तर विवादका कारण मत परिणाम घोषणा नगरिएका विभिन्न ६ स्थानमा पुनः निर्वाचन गर्ने निर्णय भएको बताइएको छ। यद्यपि आयोगले निर्वाचन मिति भने तय गरिसकेको छैन।

उक्तस्थानमा गणना भएका मत र मतदानमा सहभागी व्यक्तिको सङ्ख्यामा निकै भिन्नता आएपछि परिणाम सार्वजनिक गरिएको थिएन। थाइल्याण्डमा गत मार्च २४ गते आम निर्वाचन भएको थियो।

पुनः निर्वाचन गरिने स्थानहरूमा लाम्फाङ प्रान्तको निर्वाचन क्षेत्र नम्वर ४ अन्तर्गतका दुई इकाई, यसोथोन प्रान्त अन्तर्गत निर्वाचन क्षेत्र नम्वर २ को एक इकाइ र फिसानुलुक प्रान्त निर्वाचन क्षेत्र नम्वर २ मा एक स्थान, बैंककको निर्वाचन क्षेत्र नम्वर १३ अन्तर्गत एक स्थानमा पुनः निर्वाचन गरिने भएको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच मार्च २४ मा भएको खोनखान प्रान्तको निर्वाचन क्षेत्र नम्वर ३ का दुईस्थानको मतगणना पुनः गर्ने आयोगले जनाएको छ।

Scroll to Top