हावाहुरी पीडितको घाउमा कविलासी नगरपालिकाको मलहमपट्टी

जनकपुरधाम, चैत्र २२ गते । शरीरभरी घाउको खत छ । पीडाले गाउँभरी छट्पटाहट छ । भोका अनुहारले भोजन खोज्दै छ । बेसहारा मनहरु सहारको आशमा छन् । बारा र पर्साको हावाहुरी पीडितहरुको घाउमा मलहम पट्टी गर्न सर्लाहीको कविलासी नगरपालिका जनप्रतिनिधि, कर्मचारी, शिक्षकहरुले मनकारी निर्णय गरेका छन् ।

आफ्नो छाँक कटाएर पीडितहरुलाई एक गाँस खाना खुवाउँने प्रबन्ध मिलाउँन लागेका छन् । कविलासीका मनकारी मनहरु आफ्नो परिश्रमिक कटौती गर्दै उदण्ड हवाहुरीबाट पीडितहरुलाई जम्मा ६ लाख ५१ हजारको सहयोग उपलब्ध गराउने निर्णय गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतोले जनाए ।

उनका अनुसार,पीडितहरुको राहत तथा पुनसर््थापना कार्यमा सहयोगी हात बढाउँदै नगरपालिकाका सबै निर्वाचित जनप्रतिनिधिहरुको चैत्र महिनाको तलबबाट ५ दिनको पारिश्रमिक, कर्मचारीहरुको तर्फबाट ३ दिनको तलव र शिक्षकहरुको तलवबाट १ दिनको तलव गरि ६लाख ५१ हजार सहयोग उपलब्ध छ ।

नगरपालिकाको तर्फबाट विपद् व्यवस्थापन समितिसँग समन्वय गरि नगदै वा सो रकम बराबरको राहत सामग्री उपलब्ध गराउने निर्णय गरिएको छ । हावाहुरीबाट मृत्युवरण भएका मृतात्माको चिरशान्तिको कामना, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको र शोकाकुल परिवार प्रति समवेदना साथै सहज जीवनयापनको कामना गरिएको छ ।

Scroll to Top