विनाशकारी आँधीहुरी : ज्यान गुमाएकाहरूको पुण्य तिथिमा शोक मनाउने प्रदेश सरकारको निर्णय

द पब्लिक टुडे समाचारदाता-
जनकपुरधाम, चैत्र २४ गते ।
प्रदेश नम्वर २ का सरकारले बारा र पर्साको आँधीमा ज्यान गुमाएकाहरूको १३औं पुण्य तिथिमा शोक मनाउने निर्णय गरेको छ । प्रदेश सरकारले चैत्र ३० गते शोक दिवस मनाउने निर्णय गरेको हो।

आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद बैठकले बारा र पर्सामा आएको आँधीहुरीका कारण मृत्यु भएकालाई श्रद्धाञ्जली दिनका लागि प्रदेश सरकारले शोक दिवस मनाउने निर्णय गरेको छ ।

१३औं पुण्यतिथिको दिन अर्थात चैत्र ३० गते प्रदेश सरकारले प्रदेशका सम्पूर्ण कार्यालयले ११ बजे
मृतकको आत्माको चिर शान्तिको कामना गर्दै दुई मिनेट माैन धारण गरी शोक मनाउने निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले भने, ‘त्यस दिन मौन धारण गरेर श्रद्धान्जली अर्पण गर्दै शोक मनाउन सबै कार्यालयहरुलाई पत्राचार समेत गरीसकिएको छ ।’

त्यसै गरी मृतक परिवारलाई किरिया खर्चबापत २५ हजार रुपियाँ उपलब्ध गराउने प्रदेश सरकारले निर्णय गरेको छ । उक्त रकम आउँदो मंगलवार वितरण गरिने यादवले बताए ।